आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

प्रचण्डको राजनीतिक प्रतिवेदन : पार्टीमा यौन अनैतिकता र पैसाप्रतिको आशक्ति बढेकोमा चिन्ता

गोकर्णेश्वर खबर१३ पुष २०७८, मंगलवार ०७:५९ मा प्रकाशित (२ साल अघि) ३८२ पाठक संख्या

१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पार्टीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा सोमबार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रचण्डले सो प्रतिवेदनलाई ’२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नाम दिएका छन् ।

प्रचण्डको राजनीतिक प्रतिवेदनमा राष्टिय अन्तराष्टिय राजनीतिक आर्थिक सांस्कृतिक परिवेश, जलवायु परिवर्तनका मुद्धालाई समेट्नुका साथै पार्टीमा यौन अनैतिकता र पैसाप्रतिको आशक्ति बढेकोमा चिन्ता व्यक्त गरिएको छ । प्रतिवेदनमा उनले पार्टीका तत्कालीन नीति, योजना र कार्यक्रमको रूपरेखा प्रस्तुत गरेका छन् ।

प्रचण्डले सांस्कृतिक रूपान्तरणको प्रश्न क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको अनिवार्य सर्त भएको बताउँदै सांस्कृतिक रूपान्तरणको विषयलाई प्रत्येक कमिटीले व्यवहारमा उतार्न योजनबद्ध पहल गर्नुपर्ने बताएका छन् ।

जनताले माओवादी र अन्य पार्टीमा खासै भिन्नता नदेखिएको बताउँदै उनले पार्टीमा कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति बढ्दो रहेको ठहर गरेका छन् ।

समायोजनको रणनीति र समाजवाद उन्मुख समृद्धिको कार्यनीति अन्तरगत जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादको आधार निर्माण गर्न प्रचण्डले तत्कालीन नीति, योजना र कार्यक्रम तय गरेको उल्लेख गरेका छन् ।

यसमा पार्टी प्रशिक्षणको सञ्चालन, मुखपत्र लगायत पार्टीको प्रकाशन र स्कूलिङका लागि सामाजिक सञ्जालको अधिकतम प्रयोग गने बताएका छन् । उनले संगठात्मकरुपले पार्टीलाई जनवादी केन्द्रीयताको सिद्धान्त अनुसार सञ्चालन गर्न जोड दिनुपर्ने जिकिर गरेका छन् ।

पार्टीमा अनुशासन, विधि र व्यवस्थापनलाई प्रभावकारी रूपले कार्यान्वयन गर्ने र कुनै पनि स्तरका निर्वाचित पदाधिकारीले पार्टीको हित अनुसार काम नगरे वा गर्न नसकेका कमिटीले फिर्ता बोलाउन सक्ने र कमजोरीको प्रकृति अनुसार अनुशासनको कारबाही गर्न सक्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।