आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

जालझेल गरेर सरकार ढाले,गठबन्धनको नाममा निकम्मा सरकार बनाइएको छ : ओली

गोकर्णेश्वर खबर८ पुष २०७८, बिहीबार १९:४६ मा प्रकाशित (२ साल अघि) १७६ पाठक संख्या

वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निकम्मा भएको आरोप लगाएका छन् । विकासका लागि काम गर्ने सरकारलाई ढालेर गठबन्धनका नाममा जनताले नचुनेको सरकार गठन गरिएको उनले दावी गरे ।

नेकपा एमाले जिल्ला कमिटी पर्साले जगरनाथपुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले छिटो भन्दा छिटो निर्वाचनमा जानुपर्ने बताए ।

‘विभिन्न जालझेल गरेर सरकार ढाले, गठबन्धनको नाममा निकम्मा सरकार बनाइएको छ । जसलाई जनताप्रति, विकासप्रति मतलब छैन । त्यसकारण अहिले देशको विकास रोकिएको छ आयात बढेको छ, मुद्रास्फिती बढेको छ, वैदेशिक मुद्राको सञ्चितीमा समस्या आएको छ । बैंकमा जाँदा पैसा छैन’ उनले भने ।

विकासमा अगाडि बढ्न खोज्नेवित्तिकै देशी विदेशी शक्ति प्रयोग गरेर सरकार ढाल्ने प्रवृत्ति देखिएको उनले बताए ।

‘अहिलेको सरकार जनताले बनाएको हैन, जनताले त धुस्नु हराएको छ । १ सय ६५ ठाउँमा प्रत्यक्ष निर्वाचनमा कांग्रेसलाई २३ सिटमा झारेको छ । प्रचण्डलाई पनि मैले समर्थन गरेर, आग्रह गरेर जिताएको हो,’ उनले भने ।

आफू सरकारमा छँदा अत्यधिक धेरै पुलहरु बनेको, साढे ४ सय बाटो बनेको, पूर्वपश्चिम राजमार्गलाई चौडा गर्ने काम शुरु गरेको ओलीले बताए । नयाँ नयाँ हवाइ मैदान बनाएको, काठमाडौंलाई तराइसँग जोड्ने फाष्ट ट्रयाक, उत्तर दक्षिणका करिडोर सडकहरु निर्माण सुरु गरेको उनले बताए ।

बिहीबार ओलीले जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ नेकपा एमालेका प्रवेश गराएका छन् ।