आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

टेकु अस्पतालमा बढ्न थाले कोरोनाका बिरामी,भरिन थाल्यो आईसीयू

गोकर्णेश्वर खबर८ पुष २०७८, बिहीबार १९:२७ मा प्रकाशित (२ साल अघि) १७७ पाठक संख्या

काठमाडौं । १० दिन अगाडिसम्म काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसीयूमा दुई जना मात्रै कोरोना संक्रमित बिरामी उपचाररत थिए । तर, अहिले त्यो संख्या बढेर ८ पुगेको छ ।

आईसीयूमा कोरोना संक्रमित भर्ना हुनेक्रम विस्तारै उकालो लाग्दै गएको अस्पतालकी निर्देशक डा. मनिषा रावलले जानकारी दिइन् । डा. रावलका अनुसार आइसोलेसनमा बिरामीको भर्ना दर बढेको छैन ।

‘एक हप्ता यतादेखि गम्भीर भएर आउने बिरामीको संख्या विस्तारै बढ्दै गएको छ । जसमा ३५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको छ’ डा. रावलले भनिन् ।

अस्पताल प्रशासनको तथ्यांक अनुसार आइसोलेसनमा ११ जना संक्रमित उपचाररत छन् । अधिकांस संक्रमितमा झाडापखलाको लक्षण देखिएका छन् ।

‘आजभोलि चिसो बढिरहेको छ । जसका कारण बिरामीमा झाडापखलाको समस्या देखिएको हुनसक्छ,’ उनले भनिन्, ‘पहिला ज्वरो आउने, खाना रुचि नहुने जस्ता साझा समस्या देखिन्थे । तर, अहिले केही फरक लक्षण देखिएका छन् ।’

अस्पतालको तथ्यांक अनुसार अस्पतालमा भर्ना भएका अधिकांशले खोप नलागएको पाइएको छ । ‘खोप लगाएका व्यक्तिहरु पनि भर्ना भएका छन् । तर, खोप नलगाउने संक्रमित धेरै छन् । जसले गर्दा उनीहरुको स्वास्थ्यमा थप जटिलता देखिएको छ,’ डा. रावलले भनिन् ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रान फैलिँदै जाँदा नेपालमा झन् खतरा बढेको भन्दै उनले जनस्वास्थ्यको मापदण्डको पालना र सबैमा खोपको पहुँच पुर्‍याउनुपर्ने सुझाब दिइन् ।