आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

बागमती प्रदेशमा ईन्द्रबहादुर बानियाँ नेतृत्वको प्यानल घोषणा

गोकर्णेश्वर खबर१७ मंसिर २०७८, शुक्रबार १२:३८ मा प्रकाशित (२ साल अघि) ११० पाठक संख्या

हेटौंडा । नेपाली कांग्रेसको १४ ओैं महाधिवेशन अन्तर्गत बागमती प्रदेशको अधिवेशनमा ईन्द्रबहादुर बानियाँको नेतृत्वमा प्यानल घोषणा गरिएको छ । शेरबहादुर देउवा समूहबाट प्रदेश सभापतिका उम्मेदवार ईन्द्रबहादुर बानियाँको नेतृत्वमा प्यानल घोषणा गरिएको हो ।

पत्रकार सम्मेलनमार्फत कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापति बानियाँको नेतृत्वको समूहको उम्मेदवारी घोषणा गरेका हुन् ।

बानियाँ नेतृत्वको समूहबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ (भक्तपुर) र धर्मराज गौतम (काठमाडौं), महामन्त्रीमा राजु श्रेष्ठ (काठमाडौं) र तिलक रुवाली (धादिङ), सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक), महेन्द्र थिङ (नुवाकोट) र निरु खड्का (ललितपुर) उम्मेद्वार रहने छन् । अन्य ८३ जना सदस्य रहने छन् । बागमती प्रदेश समिति कूल ९१ सदस्यीय हुनेछ ।

उम्मेदवारी घोषणासभामा बोल्दै प्रदेश सभापति पदका उम्मेद्वार ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा नेपाली कांग्रेसलाई बलियो बनाउँदै प्रदेशलाई कांग्रेसकै नेतृत्वमा समृद्ध बनाउन समावेशी टिमसहितको उम्मेदवारी घोषणा गरिएको बताए ।