आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

एमाले गोकर्णेश्वर-३ को अध्यक्षमा बुद्धिबहादुर श्रेष्ठ चयन,तल्लो कमिटीलाई प्राथमितामा राख्नुपर्ने उल्लेख

गोकर्णेश्वर खबर३२ श्रावण २०७८, सोमबार २२:५५ मा प्रकाशित (२ साल अघि) २४४ पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) गोकर्णेश्वर नगरपालिका वडा नं ३को वडा कमिटी अध्यक्षमा बुद्धि बहादुर श्रेष्ठ चयन भएका छन् ।

शनिबार ड्रिमहाउसमा भएको भेलाले एमाले गोकर्णेश्वर ३को वडा कमिटी अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो।

२०६० सालदेखि एमालेमा आवद्द हुँदै सामाजिक तथा राजनीतिक कार्यमा सक्रिय रहँदै आएका श्रेष्ठ श्री सुन्ताखान माध्यमिक बिद्यालय व्यवस्थापन समितिको दुइ कार्यकाल अध्यक्ष भएर काम गरिसकेका छन ।

नेवारी संस्कृतिको जगेर्ना गर्न भगवती बाँसुरी खल स्थापना गर्न समेत अध्यक्ष श्रेष्ठको उल्लेख्य भूमिका रहँदै आएको छ । २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलन होस् चाहे त्यो ०७२ सालको महाविनासकारी भूकम्पको समयमा समेत उद्दार तथा राहतमा सक्रिय भूमिका निर्वाह गर्दै आएका श्रेष्ठ जनताको मर्म बुझ्ने नेताका रुपमा परिचित छन् ।

पार्टी संगठनलाई बलियो बनाउन तल्ला कमिटीहरुको विशेष भूमिका रहने भन्दै अध्यक्ष श्रेष्ठले टोल कमिटी निर्माणलाई विशेष प्राथमिकता दिएर अघि बढ्ने बताए । उनले आफूले युवापुस्ताको आवाज बोकेर अग्रजहरुलाई सम्मान दिदैँ वडा कमिटीलाई मजबुत बनाउँने प्रतिबद्धता व्यक्त गरे । ‘आगामी स्थानीय तहको निर्वाचन वडा -३ सहित समग्र गोनपामा नेकपा एमालेका उम्मेदवारलाई निर्वाचित गराउने बिशेष योजना सहित अगाडी बढ्छु’ उनले भने ‘स्थानीय सरकारले गरेका गलत र जन बिरोधी कामको भन्डाफोर तथा स्थानीय तहमा देखिएको अव्यवस्था र विसंगतिका वारेमा खबरदारी गर्दै विकास र समृद्धि संग जनतालाई जोड्ने पहल गछौंं ।’

उक्त भेलाले एमाले गोकर्णेश्वर नगरपालिका वडा नं ३को वडा कमिटी सचिबमा नवीनराज बिष्टलाइ चयन गरेको छ ।