आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

बिपी प्रतिष्ठानमा आर्थिक अनियमितता गर्नेलाई कारबाही गरिन्छ : स्वास्थ्य राज्यमन्त्री

गोकर्णेश्वर खबर२२ श्रावण २०७८, शुक्रबार १५:१९ मा प्रकाशित (२ साल अघि) १२६ पाठक संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितता गर्नेलाई कारबाही गरिने बताएका छन्।

प्रतिनिधि सभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा उनले सिनेट बैठक बोलाएर छानबिन समिति गठन गर्दै कारबाही प्रक्रिया अगाडि बढाइने बताए।

उनले सिनेट बैठक छिट्टै बस्ने पनि बताए।

‘बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता भएकोबारे सरकारले छिट्टै सिनेट बैठक बोलाएर छानबिन समिति गठन गर्नेछ। समितिले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कडा कारबाही हुन्छ,’ उनले भने।

उनले स्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेमाथि कडा कारबाही गर्न सरकारले मन्त्रालयमा छुट्टै अनुगमन इकाइ बनाउन लागेको जानकारी दिए।

बैठकमा समितिका सदस्यहरूले जनस्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल गर्ने कर्मचारीमाथि कडा कारबाही गर्न नसकेकोमा सरकारको आलोचना गरेका थिए।

समितिका सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीले आन्दोलन गरेर प्रतिष्ठानलाई बन्द गराउने कर्मचारीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

समितिका अर्का सदस्य एवं पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रतिष्ठानका उपकूलपतिलाई दिइएको असीमित अधिकार तत्काल कटौती गर्न सरकारलाई सचेत गराएका थिए।