आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना,सतर्क रहन आग्रह

गोकर्णेश्वर खबर१७ श्रावण २०७८, आईतवार १०:२० मा प्रकाशित (२ साल अघि) १८९ पाठक संख्या

काठमाडौं । आज (आइतबार) पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यस क्रममा दिउँसो र राति गरी देशका पाँचवटा प्रदेशमा कतै कतै भारी वर्षासमेत हुने सम्भावना देखिएको छ।

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि हुने सम्भावना छ।

यस्तै राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र यस क्रममा प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ।

महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा लेखिएको छ– प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभूगामा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।