आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

राष्ट्रपति ओलीको कार्यकर्ता भइन्,१४९ सांसद आउँदा पनि रातको दुई बजे संसद विघटन गरिन् : देउवा

गोकर्णेश्वर खबर१२ असार २०७८, शनिबार १८:३७ मा प्रकाशित (२ साल अघि) ३३० पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको टिप्पणी गरेका छन् ।

शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाए ।

‘आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग बढी दुःख लागेको छ’, उनले भने, ‘राष्ट्रपति भण्डारीले ओलीको कार्यकर्ताजस्तो भएर काम गर्नुभयो।’
‘राष्ट्रपति ओलीको कार्यकर्ता भइन् । १४९ सांसद आउँदा पनि रातको दुई बजे विघटन गरिन्। केपीसँग भन्दा राष्ट्रपतिसँग दुःख लागेको छ’ उनले भने ।

देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन आदेश हुने विश्वास व्यक्त गरे ।

‘अदालतले प्रधानमन्त्री बनाओस् भन्ने होइन। संविधानको व्याख्या गर्ने सर्वोच्च अदालत हो भनेको हो। राष्ट्रपतिले को कता छ भनेर सोध्नपर्ने हो। त्यो नगरी दुई बजे भंग गरियो’, उनले भने।

उनले ओलीलाई अधिनायकवादीको संज्ञा दिएका छन्। ‘ओली संविधानवादी लोकतन्त्रवादी केही होइन उनी मनपरी गर्ने अधिनायकवादी हुन्। संविधानमा लेखेको राष्ट्रपतिले नमानेपछि अदालत गएको हो। संविधानको अन्तिम ब्याख्या सर्वोच्चले गर्ने हो।’

संविधानमा स्पष्ट लेखेको समेत नगर्ने राष्ट्रपतिले कसरी संविधाननको रक्षा गर्न सक्छ भन्दैं उनले पटक पटक राष्ट्रपतिलाई ओलीको कार्यकर्ता भएर काम गरेको आरोप लगाए।

‘राष्ट्रपतिले संविधान उलंघन गरेकाले करेक्सन गर्न अदालत गएको हो। अदालतले हाम्रो दाबी अनुसारकै निर्णय गर्छ’, उनले भने,‘ हामीलाई विश्वास छ,अदालतले संविधानमा लेखे अनुसार गर्छ।’

देउवाले संविधानमा धारा ७६ (५) राख्नुको अर्थ सांसदहरुको स्वतन्त्रता स्वीकारिएको रुपमा अर्थ्याए। सोही धाराअनुसार गत जेठ ७ गते १४९ सांसदले हस्ताक्षर गरेर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए। तर, राष्ट्रपति भण्डारीले देउवाको दाबीलाई अस्वीकार गरेकी थिइन्।