आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

नेता नेपालले भने – ”मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं”

गोकर्णेश्वर खबर८ असार २०७८, मंगलवार २२:१५ मा प्रकाशित (२ साल अघि) ३१२ पाठक संख्या

काठमाडौं । पूर्व प्रधानमन्त्री एव्म एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउन अपिल गरेका छन् । सर्वोच्च अदालतले ओली सरकारको मन्त्रिमण्डल विस्तारलाई बदर गरेपछि सामाजिक सञ्जाल फेसबुक मार्फत वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीबाट पटक पटक गलत कार्य भैरहेको र त्यसले मुलुक र व्यवस्थालाई संकट तर्फ धकेलेको समेत बताएका छन् ।

उनले दुई तिहाई नजिकको नेकपा सरकार बनेर ऐतिहासिक काम गर्ने अवसर प्राप्त भएको तर ओलीको हठले देश र पार्टी नै संकटमा पुगेको निष्कर्ष पनि दोहोर्याएका छन् । उनले आफु पार्टी एकताकै पक्षमा रहेको तर ओलीको हठले एकताको वातावरण नबनेको पनि बताएका छन् । नेता नेपालले संबिधान र व्यवस्था जोगाउन बामपन्थी र लोकतान्त्रिक शक्तिहरु एक ठाउँ उभिनुपर्नेमा पनि जोड दिएका छन् ।

नेता नेपालको फेसबुक स्टाटस
संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो । जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी “नेकपा” बनेको थियो । तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा९एमाले०लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्। सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा पुर्याउँदैन र राम्रो परिणाम दिँदैन । हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपंथी ,लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं ।