आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

बाढी-पहिरो पीडितहरुका लागि सहयोग लिएर हेलम्बु पुग्यो गोकर्णेश्वरका मेयर चालिसेसहितको टोली

गोकर्णेश्वर खबर८ असार २०७८, मंगलवार २०:५७ मा प्रकाशित (२ साल अघि) १२८० पाठक संख्या

काठमाडौं । सिन्धुपाल्चोकमा असार १ गते आएको भीषण बाढी-पहिरोका कारण विस्थापित भएका परिवारहरुका लागि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले ५ लाख सहयोग गरेको छ ।

हेलम्बु र मेलम्ची बाढीका कारण अस्तव्यस्त रहेको बेला गोकर्णेश्वर नगरपालिकाले विस्थापितहरुको लागि भन्दै ५ लाख सहयोग गरेको हो ।

मंगलबार नगरपालिकाका मेयर सन्तोष चालिसे, नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, नगरपालिका प्रमुख कार्यकारी अधिकृत रामप्रसाद आचार्य , वडा ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ सहितको टीम सिन्धुपाल्चोक पुगेर हेलम्बु गाउँपालिकाको नाममा ५ लाखको चेक हस्तान्तरण गरेका हुन्।

मेयर चालिसेले नेपालीहरुलाई दुःख कष्ट परेको बेला गोकर्णेश्वर नगरपालिका हरदम सहयोग गर्न तयार रहेको बताए । उनले छिमेकी जिल्लामा विपत्त आइपर्दा आफुहरु हेरर मात्र बस्न नसक्ने उल्लेख गरे । ‘सिन्धुपाल्चोक दुरि र भेगका हिसावले पनि हामी छिमेकी । एक छिमेकीलाई विपत्त पर्दा हामी टुलुटुल हेर बस्न सकेनौं । जति सक्छौं त्यति सहयोग गरौं भनेर बाढी आएको भोलीपल्टै राहतको घोषणा गरेका हौं’ उनले भने ‘भोली यस्ता विपत्त हामीलाई पनि पर्न सक्छन् एक अर्का मिलेर विपत्तको सामान गर्नुपर्छ । ‘

गोकर्णेश्वर नगरपालिकाले सिन्धुपाल्चोक बाढी पहिरोले सयौं घरपरिवार विस्थापित भएको खबर पाएसँगै सोही दिन नै ५ लाख राहतको घोषणा गरेको थियो । बाढी पहिरो पीडितहरुको लागि सहयोगको हात बढाउने नगरपालिकाको निर्णय सरहानिय भएको भन्दै सामाजिक संजालमा मेयर चालिसे र नगरपालिकाको प्रशंसा समेत गरिएको थियो । गोकर्णेश्वरले नै सबैभन्दा पहिला पीडितहरुको लागि भन्दै राहतको घोषणा गरेको थियो । गोकर्णेश्वरको घोषणापछि काठमाठौं महानगरपालिकाले पनि बाढी पीडितको लागि सहयोग गर्ने घोषणा गरेको थियो ।

बाढी-पहिरोले सिन्धुपाल्चोकका हेलम्बु र मेलम्चीमा ठूला क्षति पुर्याएको छ । बाढी पहिरोका परि हेलम्बु गाउँपालिकामा १५ जनाको मृत्यु भएको छ भने २३ जना अझै सम्पर्कविहीन छन्। मानविय क्षतिसँगै अरबौंको भौतिक क्षति भएको छ । केही दिन अघि सुन्दर देखिने मेलम्ची बजार यतिबेला बाढीले बगर बनेको छ । सयौं घरहरु पुरिएका छन् । कतिपयका घरहरु बाढीको लेदोसँगै बगेका छन् भने कतिपय घरभित्र रहेका नगदी जिन्सी समान पनि बाढी सँगै सोर्हीएका छन् । मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा प्राकृति विपत्तले सयौं विस्थापित भएका छन् ।
हेलम्बु–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा पहिरो जाँदा मेलम्चीमा बाढी आएको गाउँपालिकाले जनाएको छ। बाढीले हेलम्बुसँगै मेलम्ची नगरपालिकामा पनि क्षति पुर्‍याएको छ। मेलम्ची बजार क्षेत्र पुरिएको छ। सतर्कता अपनाउँदा मेलम्चीमा भने मानवीय क्षति हुनबाट जोगिएको छ।

पर्यटकिय नगरी हेलम्बु बाढी-पहिरोका कारण पूर्ववत अवस्थामा फर्कँन दसौँ वर्ष लाग्ने गरी क्षतविक्षत भएको छ ।