आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

८ सय १३ पत्रकार कोरोना संक्रमित, १६ जनाको मृत्यु

गोकर्णेश्वर खबर१४ जेष्ठ २०७८, शुक्रबार १४:०४ मा प्रकाशित (२ साल अघि) २२५ पाठक संख्या

काठमाडौं । कोरोना भाइसबाट हालसम्म ८ सय १३ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५ सय २२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् ।

त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । महासङ्घले दिएको जानकारीअनुसार हाल तीन पत्रकार आइसीयूमा छन् भने तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

महासङ्घले प्रकाशित समाचारको विषयलाई लिएर अन्नपूर्ण पोष्ट दैनिकका सुनसरी संवाददाता रत्नप्रसाद आचार्यलाई विभिन्न सङ्घसङ्गठनले विज्ञप्ति निकालेर धम्क्याएको घटना निन्दनीय र प्रेसविरोधी भएको जनाएको छ ।

महासङ्घ सुनसरी शाखाका अनुसार केही दिनअघि अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित ‘सर्दु जलाधार १ सय ८२ बिघा जग्गा फिर्ता’ शीर्षक समाचारलाई लिएर पत्रकार आचार्यलाई अपमानजनक शब्द प्रयोग गरी ती सङ्घसङ्गठनले विज्ञप्ति निकालेर पत्रकारलाई कारवाही गर्ने र सामाजिक बहिष्कार गर्ने भन्दै धम्क्याएका थिए ।

महासङ्घले विज्ञप्ति जारी गरी प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानूनी प्रक्रिया जान सकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई यस किसिमले धम्की दिनु निन्दनीय र प्रेसविरोधी काम हो भनेको छ ।

महासङ्घले धम्की दिनेलाई तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ ।