आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

एक पटक फेरि लडाईं लड्नेवाला छु,छोड्नेवाला छैन : प्रचण्ड

गोकर्णेश्वर खबर२७ फाल्गुन २०७७, बिहीबार २०:२० मा प्रकाशित (३ साल अघि) ४०३ पाठक संख्या

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्रवृत्ति विरुद्ध जेल जान मात्र नभएर मर्न पनि तयार रहेको बताएका छन् ।

स्वास्थ्यकर्मीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी प्रवृत्तिविरुद्ध लेखिएको १९ पेजको डकुमेन्टमा पनि आफूले केपी प्रवृत्तिविरुद्ध जेल जान र मर्न तयार रहेको बताएको स्मरण गरेका छन् ।

गणतन्त्र समाप्त पार्ने केपी ओलीको षड्यन्त्र समाप्त पारिएको भन्दै उनले भने, ‘व्याटल जित्यौं, वार जितेका छैनौं ।’

आफूलाई पूर्वलडाकु लगायत कार्यकर्ताहरुले आवश्यक परे जनयुद्ध लड्न फेरि तयार रहेको बताउने गरेको भन्दै प्रचण्डले शन्तिपूर्ण आन्दोलन हुने बताए ।

प्राप्त उपलव्धी रक्षाका लागि हिंसात्मक नभई शान्तिपूर्ण तवरबाट अघि बढ्ने भन्दै उनले देशव्यापी रुपमा कार्यकर्ताहरुको भेला गर्ने जानकारी दिए । प्रचण्डले आफू फेरि एक पटक क्रान्ति गर्ने मनस्थितिमा रहेको समेत बताए । उनले उमेर ढल्किदै गए पनि अहिले आफू चुप लागेर नबस्ने बताए ।

‘जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६–६७ वर्ष भएँ । उमेरले कति साथ दिन्छ छोडिदिनुपर्छ पनि भन्छन्, तर म छाड्नेवाला छैन, माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए’ उनले भने, ‘म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु । म छोड्नेवाला छैन, म लड्नेवाला छु ।’

उनले अब २÷४ वर्ष काठमाडौं भन्दा बाहिर पार्टी अभियानमा बढी समय बिताउने योजना रहेको पनि बताए । ‘फेरि २÷४ वर्ष जनताका बीचमा गएर अभियान सञ्चालन गर्ने मनस्थितिमा छु, किनभने प्रतिक्रियावादीहरुले देशभित्रका र बाहिरकाले निकै ठूलो षड्यन्त्र गरे हाम्रो राष्ट्र, हाम्रो आन्दोलन र उपलब्धीमाथि धावा बोल्ने कोसिश गरेका छन्’ उनले भने ।

उनले अघि भने, ‘आफ्नै शक्तिमा भर परेर, आफ्नै खुट्टामा उभिएर मात्र यसलाई परास्त गर्न सकिन्छ ।’

नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको भन्दै प्रचण्डले त्यसलाई सुधार गर्ने बताएका छन् । ‘नयाँ मान्छे खोज्छौं भन्दा पुराना साथीहरु छुटेको पक्कै हो, अब चाहिँ त्यसलाई उल्ट्याएर सच्याउने प्रतिवद्धता मैले आफैंले गरेको छु ।’

उनले एक पटक फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावाद विरुद्ध लड्ने आफूले संकल्प गरेको बताए ।

प्रचण्डले आफू फेरि एक पटक आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने पक्षमा रहेको पनि बताए । आन्दोलनका उपलब्धीमाथि देशभित्र र बाहिरबाट ठूलै षड्यन्त्र भइरहेको भन्दै प्रचण्डले त्यसलाई परास्त गर्न लडाईं लड्ने बताएका हुन् ।