आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

ओलीबाटै प्रतिबन्धमा परेका विप्लवले फुकुवापछि भने-‘जुन र घामको भेट हुँदो रहेछ’

गोकर्णेश्वर खबर२१ फाल्गुन २०७७, शुक्रबार २१:०४ मा प्रकाशित (३ साल अघि) ३५५ पाठक संख्या

काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्दले तीन बुँदे सहमतिपत्र कार्यान्वयनमा आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै महासचिव चन्दले सहमतिपत्रमा प्रतिबद्ध रहेको बताएका हुन् ।

‘तीन बुँदे सहमतिमा हामी प्रतिबद्ध छौं । यसलाई पालना गर्छौं । दृढतापूर्वक भन्छौं यहाँ कसैले पनि आशंका या विभिन्न ढंगले उत्तेजनात्मक कुर्तक गर्न जरुरी छैन,’ चन्दले भने ।

नेपाली समाज रुपान्तरण प्रक्रियामा अगाडि बढेको भन्दै चन्दले सरकारसँगको सहमतिलाई जुन र घामको भेटसँग तुलना गरे । ‘एउटा गीत छ, यो कस्तो प्रेम भयो जुन र घामको जसो कहिल्यै भेट नहुने’ भने जस्तो । जुन र घामको भेट हुँदैन भनेर देउडामा गाइन्छ । हामी त्यस्तैत्यस्तै हुन थालेको जस्तो मान्छेले अनुमान गर्थे । तर जुन र घामको पनि भेट हुँदो रहेछ,’ उनले भने, ‘यो अगाडि पनि हाम्रो कुरा भएको थियो । इमान्दारीपूर्वक प्रधानमन्त्रीसँग कुरा भएको थियो । हामी कसैमाथि हमला गरेर हैन, हामी नेपाली जनताको श्रममथि उभिएर देश बनाउन चाहन्छौं । त्यो बनाउने नेतृत्व हामी गरौं । त्यो छलफल चलेको थियो ।’

नेपाली समाज रुपान्तरण हुँदै आएपनि पूर्ण नभएको उनले बताए । केही कुराहरुमा आफ्ना असहमति राख्दै आफूहरु अगाडि बढेको चन्दको भनाइ छ ।

‘००७ सालदेखि आजसम्म खण्डखण्डमा नेपाली समाज रुपान्तरण हुँदै आएको छ । तर त्यो पूर्ण भएको छैन । आज पनि नेपालका मजदुरहरुको स्थान कमजोर छ । किसानहरुको स्थिति बेहाल छ । दलित, महिला, उत्पीडित समुदाय सन्तुष्ट छैनन्,’ चन्दले भने, ‘जहाँजहाँ हाम्रा असहमति रहे दृढतापूर्वक राख्यौं । संविधानमा व्याख्या गरिएको संसदीय व्यवस्था, पुँजीवादी व्यवस्थाको बहुदलीय व्यवस्थाको व्याख्या भयो । त्यसमा हामी सहमत भएनौं । अहिलेको सरकारसँगको कुरा हैन । नेपालको राजनीतिक रुपान्तरणको प्रक्रियामा अलिकति छलफल र बहसहरु भए त्यसमा सहमत हुन सकेनौं । र आफ्नो तर्फबाट विद्रोह गर्यौं । हामी अगाडि बढेकै हो ।’
अझै पनि नेपालमा कसैले सुरक्षित अनुभूति गर्ने स्थिति नबनेको चन्दले जनताले के चाहन्छन् फैसला गर्ने वातावरण बनाउनु पर्ने उनले बताए ।

‘नेपालमा आज पनि कसैले सुरक्षित अनुभूति गर्ने स्थिति छैन । सबै नेता, पार्टी, जनतालाई आफ्नो जीवनमाथि आफै हाबी भइराखेको जस्तो अनुभूति भइरहेको छैन । हरेक घटनाक्रममा तरंग छ । हामी त झुपडीभित्र बसेर आयौं । झुपडीमा पनि त्यो छ । महलमा पनि त्यो छ । सहरमा पनि छ, गाउँमा पनि छ । जसरी हामी प्रयोग गर्दै आएका छौं, यो ठिकै होला । तर, एकपटक फेरि जनतालाई नयाँ फैसला गर्ने वातावरण बनाउन जरुरी छ । के चान्छन् जनताले रु गम्भीरतापूर्वक छलफल गर्नैपर्छ । हामी सहकार्य गर्न तयार छौं,’ चन्दले भने ।

वैदेशिक हस्तक्षेप भए पनि आफूहरु नझुक्ने पनि उनले बताए । ‘कसैले हामीलाई हस्तक्षेप गर्यो भने कुनै विदेशीले हामीलाई हमला गर्‌यो , हेप्न खोज्यो भने हाम्रो जीवन यही धर्तीमा गाडिन्छ,’ चन्दले भने, ‘तर झुक्ने छैनौं । हाम्रो प्रतिबद्धता छ ।’