आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

एकैमञ्च भेट्यो की देउवा र पौडेलबीच जुहारी सुरु

गोकर्णेश्वर खबर१९ फाल्गुन २०७७, बुधबार २३:५१ मा प्रकाशित (३ साल अघि) २७२ पाठक संख्या

चितवन – नेपाल कम्युनिष्ट पार्टी दुई कित्तामा बाँडिएसँगै नेपाली कांग्रेसले कुन कित्तालाई सहयोग गर्ला भन्ने जिज्ञासा सर्वत्र छ।

कांग्रेस पार्टीले भने यस विषयमा आधिकारिक धारणा बनाइसकेको छैन। पार्टीका शीर्ष नेताहरूले आफू अनुकूलका धारणा दिँदै आएका छन्।

पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी भएका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका बीच भने राम्रै जुहारी चल्यो।

दुवै जनाले ‘हुन त राजनीति भाषण गर्ने कार्यक्रम होइन’ भन्दै एक अर्काको आलोचना गर्दै आफ्नो लाइन स्पष्ट पारेका थिए।

केन्द्रीय पदाधिकारीमध्ये सबभन्दा पहिले बोलेका महामन्त्री शशांक कोइराला दुई मिनेट पनि खर्च नगरी श्रद्धाञ्जली मन्तव्य दिएर बिदा भए।

त्यसपछि मञ्चमा पुगेका वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसले जनताबाट विपक्षमा बस्ने जिम्मेवारी पाएको भन्दै त्यही भूमिकालाई जिम्मेवारीपूर्वक निभाउनुपर्ने बताए।

उनले आफ्नो औकात र हैसियतभन्दा बढी आकांक्षा राख्नु महत्वाकांक्षा हुने र यो विकृति हुने भन्दै हैसियतभन्दा बढी आकांक्षा नराख्न आग्रह गरे।

राजनीतिको नाममा सत्तामा पुग्नेहरूबाट जनता निरास छन्। त्यो निरासा हटाउनका लागि अरू दायाँबायाँ नगरी निःस्वार्थ भावले कांग्रेसले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, जिम्मवारीबाट पन्छिन हुँदैन,’ उनले भने, ‘प्रतिपक्षी दलको भूमिकाबाट कांग्रेस कतै पनि डगमगाउनु हुँदैन।’

पौडेलले राजनीतिक विकृति बढ्दै गएको भन्दै यसबाट लोकतन्त्रलाई बचाउन कांग्रेसले भूमिका खेल्नुपर्ने बताए।

‘विकृति के हो, वास्तवमा कसैले पनि आफ्नो औकात र हैसियतभन्दा बढी आकांक्षा राख्नु यो महत्वाकांक्षा हो र यो विकृति हो। आफ्नो हैसियतभन्दा बढी आकांक्षा हामी कसैले पनि नराखौं,’ उनले भने, ‘अहिले नेपाली कांग्रेस प्रतिपक्षमा छ अहिले कांग्रेस जुन हैसियतमा संसदमा छ, जुन हैसियतमा राष्ट्रिय राजनीतिमा उपस्थित छ कांग्रेसले आफ्नो हैसियतअनुसारको भूमिका निर्वाह गर्नुपर्छ। विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ।’

लगत्तै मञ्चमा पुगेका सभापति देउवाले हुन त यो राजनीतिक कुरा गर्ने ठाउँ होइन, राजनीतिक कुरा उठिहाल्यो, रामचन्द्र जी बोलिहाल्नुभयो अब के गर्ने समस्या भैहाल्यो भन्दै कुरा अघि बढाए।

कांग्रेसलाई पदको लोभ पनि छैन, टाउकोमा आए भाग्ने पनि छैन, काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन,’ देउवाले भने, ‘प्रधानमन्त्री पाऊँ, प्रधानमन्त्री पाऊँ भन्या पनि छैन, आयो भने भाग्नेवाला पनि छैन म, त्यही हो। यसबाट पार्टीलाई फाइदा नै होला राम्रो कुरा हो।’

कार्यक्रममा उनले वरिष्ठ नेता रामचन्द्र पौडेलले सानो चित्त गर्ने गरेको गुनासो गरेका थिए।
सानो चित्त नगर्नुस् रामचन्द्र जी तपाईं विशाल हृदय राख्नुस्। सानो चित्त छ रामचन्द्र जीको भन्ने मात्रै छन् के, त्यसकारण त्यस्तो नगर्नुस्। राजनीतिमा के आउँछ, कस्तो आउँछ व्यहोर्दै जानुपर्छ, जिम्मेवारीबाट पन्छिन हुँदैन।’

उनले अरू पार्टीको भन्दा आफ्नै पार्टीको मान्छे प्रधानमन्त्री हुँदा पार्टीलाई फाइदा हुने भएकाले चिन्ता नगर्न पौडेललाई आग्रह गरे।

चिन्ता नगर्नुस् रामचन्द्र जी तपाईंले, म पार्टीकै मान्छे प्रधानमन्त्री हुने हो, अरूभन्दा आफ्नै पार्टीको प्रधानमन्त्री भए फाइदै होला, तपाईं पनि खुसी हुनुहोला जस्तो लाग्छ मलाई त,’ उनले भने, ‘शेरबहादुर हुनै हुँदैन भनेर चाहनुहुन्न होला जस्तो लाग्छ मलाई। तपाईंले भनेको कुराबाट त्यही बुझियो।’

देउवा बोल्दै गर्दा पौडेल भने उनलाई हेरेर मुसुमुसु हाँसिरहेका थिए।