आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु,४ घाइते

गोकर्णेश्वर खबर१९ फाल्गुन २०७७, बुधबार २१:२९ मा प्रकाशित (३ साल अघि) ४३६ पाठक संख्या

झापा – झापाको सुरुङ्गामा बुधबार अपरान्ह भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्।

कनकाई नगरपालिका वडा नम्बर ४ पूर्वपश्चिम राजमार्गको कोटिहोममा भएको दुर्घटनाबाट सोलुखुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय दिलिप राना मगरको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै, सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर १६ बस्ने २८ वर्षीय दीपक क्षेत्रीको पनि उपचारका क्रममा विएण्डसी अस्पतालमा मृत्यु भएको छ। क्षेत्री कार चालक हुन्। मृतक मगर प्रदेश १–०४–००१ च ०१६७ नम्बरको कारमा सवार हुन् भने अर्का मृतक क्षेत्री उक्त कारका चालक हुन्।

पूर्वबाट पश्चिम आउँदै गरेको को १ ख १६८४ नम्बरको खाना पकाउने एलपी ग्यास बोकेको ट्रकले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट जाँदै गरेको कार र ०१–०१–०१३ प १७८३ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार झापा शिवसताक्षी नगरपालिका वडा नम्बर २ बस्ने ३९ वर्षीय ज्ञानबहादुर कसाई र उनकी श्रीमती सनम श्रेष्ठ घाइते छन्।

यस्तै, कारमा सवार मृतक दिलिप राना मगरकी श्रीमती ३० वर्षीय अन्जु मगर, सोही ठाउँका सुरेश मगर घाइते छन्। घाइते सबैको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले ट्रक चालक फरार रहेको बताएको छ। दुर्घटनास्थल झापाको सुरुङ्गाबाट १ किलोमिटर पश्चिममा रहेको छ ।