आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

कोरोनाले झापाका एकैघरका २ दाजुभाईको मृत्यु

गोकर्णेश्वर खबर१५ कार्तिक २०७७, शनिबार १०:१४ मा प्रकाशित (३ साल अघि) ४७० पाठक संख्या

झापा – कोरोना संक्रमणका कारण झापाको शिवसताक्षीमा एकैघरका दुई दाजुभाइको मृत्यु भएको छ।

शिवसताक्षी नगरपालिका २ का चूडामणि भट्टराईका दुई छोरा दयाराम र योगेश्वरको मृत्यु भएको हो।

भट्टराईका चारमध्ये जेठा छोरा ३८ वर्षीय दयाराम र कान्छा छोरा ३० वर्षीय योगेश्वरको कोरोना संक्रमणका कारण चार महिनाको अन्तरमा मृत्यु भएको हो।

दयारामको शुक्रबार बिहान विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो। योगेश्वरको भने चार महिनाअघि कतारमा मृत्यु भएको परिवारले जनाएको छ।

कात्तिक १२ कोरोना पोजेटिभ देखिएका दयाराममा निमोनिया देखिएको र सोही कारण मृत्यु भएको अस्पतालले जनाएको छ।

उनमा कुनै दीर्घरोगको समस्या नरहेको दयारामका साइँला भाइ रबिनले बताए।

‘हामीले सेनासँग समन्वय गरेर हिन्दु संस्कार अनुसार नै ठूलो दाइ दयारामको शुक्रबार कन्काई मुक्तिघाट माइधारमा अन्तिम संस्कार गर्‍यौं,’ रबिनले भने, ‘जे नहुनु भयो, हामी एक वर्षदेखि पारिवारिक पीडामा छौं, पहिले बुवा र त्यसपछि क्रमशः भाइ र आज दाइको मृत्युले गर्दा बढी नै मर्माहत भएका छौं।’

वडाअध्यक्ष कुलबहादुर बस्नेतले पनि स्वस्थ युवाको कोरोनाका कारण मृत्यु भएको सुन्दा अपत्यारिलो लागेको बताए।

उनले भने, ‘अब हामी पनि सुरक्षित छैनौं।’
दमकमा व्यवसाय गर्दै आएका दयारामको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि १२ कात्तिकमा नोबेलमा भर्ना गरिएको थियो। सोही दिन उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उपचारको क्रममा शुक्रबार बिहान करिब ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

दयारामका कान्छा भाइ योगेश्वरको गत असार १५ गते वैदेशिक रोजगारीका क्रममा कतारमा मृत्यु भएको थियो। दुई वर्षअघि वैदेशिक रोजगारीका लागि कतार पुगेका उनको कोरोना संक्रमणका कारण मृत्यु भएपछि कतारमै अन्त्येष्टि गरिएको थियो।

बाबु चूडामणिको २०७६ असार २७ गते मृत्यु भएको थियो। दुई छोराको मृत्युपछि उनको वार्षिक तिथिको काम पनि रोकिएको छ।

कान्छा छोराको मृत्युपछि यसअघिको वार्षिक तिथिलाई शनिबारका लागि सारिएकोमा शुक्रबार नै उपचारका क्रममा दयारामको मृत्यु भएको हो।