आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

आफ्नै १३ वर्षीय सालो अपहरण गर्ने भिनाजु प्रहरी फन्दामा

गोकर्णेश्वर खबर१२ भाद्र २०७७, शुक्रबार २१:३४ मा प्रकाशित (४ साल अघि) ५१९ पाठक संख्या

नेपालगञ्ज – ससुराले जग्गा किन्न राखेको पैसा हात पार्न नेपालगञ्जका कल्लु भन्ने कलिम खाँले सालाको अपहरण गरेका छन्।

भदौ ९ गते राती साढे आठ बजे मोहर्रम हेर्न गएको बेला नेपालगञ्ज १६ का खाँले आफ्नै १३ वर्षीय साला इसहाक जाकिर भन्ने इन्तजार खाँलाई अपहरण गरेका हुन्।

भदौ १० गते जग्गा किन्ने तयारीमा रहेका ससुराले ४ लाख ८५ हजार देखाएपछि कलिमले उक्त रकम हात पार्न सालाको अपहरण गरेको बाँकेका एसपी ओमबहादुर रानाले बताए।

अपहरण गरेर कलिमले सालालाई आफ्नै घरमा राखेका थिए। सालालाई घरमा राखेर ससुरालीमा दश लाख रुपैया फिरौती मागेका थिए । १० गते घरपरिवारले प्रहरीलाई खबर गरेको थियो।

रातभरी अप्रेसन चलाएर प्रहरीले ११ गते बालकको उद्धार गर्नुका साथै कलिमलाई नियन्त्रणमा लिएको एसपी रानाले बताए। प्रहरीले कलिमले प्रयोग गर्ने भे ४ प २३४४ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।