आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४८ पुग्यो

गोकर्णेश्वर खबर१२ श्रावण २०७७, सोमबार १८:०२ मा प्रकाशित (३ साल अघि) ३२१ पाठक संख्या

काठमाडौं – नेपालमा सोमबार थप तीन जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगञ्जको नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएका एकजना ६५ वर्षीय भारतीय नागरिकमा कोरोना पुष्टि भएको हो ।

वीरगंजको आदर्शनगरमा बस्दै आएका उनीमा मधुमेह तथा उच्च रक्तचापको समस्या थियो । श्वासप्रश्वासमा समेत समस्या भएपछि ती पुरुष वीरगंज हेल्थ केयरमा शनिबार उपचारका लागि पुगेका थिए ।

अस्पतालले उनको आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि नारायणी अस्पतालको कोभिड विशेष अस्पतालमा रेफर गरेको थियो । उनको उपचारका क्रममा आइतबार बिहान निधन भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी धनुषाको शहीदनगर नगरपालिका–८ डुमरीयाका ३६ वर्षका पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

ती पुरुषमा पहिलादेखि नै दम र मुटु सम्बन्धी समस्या थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनको शनिबार प्रादेशिक अस्पताल जनकपुरको आइसीयूमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

त्यस्तै सोमबार बारा जिल्लाको फेटा गाउँपालिका ३ का एक ६० वर्षीय पुरुषको त्रिवि क्षिक्षण अस्पताल महाराजगंञ्जमा उपचारका क्रममा निधन भएको छ ।