आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

कोरोना समुदायमा फैलिएको छैन : स्वास्थ्य मन्त्रालय

गोकर्णेश्वर खबर१२ श्रावण २०७७, सोमबार १७:३४ मा प्रकाशित (३ साल अघि) २३८ पाठक संख्या

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण समुदायमा फैलिनसकेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा अहिलेसम्म नेपालमा कोरोना समुदायमा फैलिसकेको प्रमाणित नभएको बताएका हुन्।

भाइरसको फैलावटको वर्गीकरण अनुसार विश्व स्वास्थ्य संगठनले नेपाललाई ठाउँ विशेषमा कोभिड १९ को केस भएको मुलुकको सूचीमा राखेको छ। यसमा स्थानीय तहहरूबाट थप खोज गर्ने काम भइरहेको छ, उनले भने।

पछिल्लो समय वीरगन्ज, सप्तरी र विराटनगरपमा ट्राभल हिस्ट्री नभएका व्यक्तिहरूमा संक्रमण देखिएपछि स्थानीय तहले संक्रमण समुदायमा पुगेको निस्कर्ष निकालेका थिए।

मन्त्रालयले भने कोरोना समुदायमा पुगेको केही शंका गर्ने आधारहरू तय भएपनि थप कुरा विश्लेषण नभइ घोषणा गर्न नसकिने जनाएको छ।

अहिले पनि संक्रमण समुदायमा फैलिनसकेकाले उच्च सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ। साथै ज्वरो, खोकी लगायत संक्रमणको लक्षण देखिनासाथ तुरुन्त स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न मन्त्रालयले अपिल गरेको छ।