आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

सिजी ल्यान्डमार्कले व्यवसायीलाई ४ महिनाको भाडा छुट दिने

गोकर्णेश्वर खबर१ श्रावण २०७७, बिहीबार ०७:५१ मा प्रकाशित (३ साल अघि) २०९ पाठक संख्या

भरतपुर,
चितवनको भरतपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्कले उक्त कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभर (चार महिना) को भाडा छुट दिने भएको छ । फोब्र्सले प्रकाशित गर्ने विश्वका अर्बपतिहरुको सूचीमा समेत परेका मुलुकका प्रतिष्ठित व्यवसायी एवं सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको हो ।

सिजी ल्यान्डमार्क सांसद चौधरी अध्यक्ष रहेको सिजी ग्रुप ग्लोबल अन्तर्गतको व्यापारिक कम्प्लेक्स हो । उद्योग व्यवसायमा मात्रै सीमित नभएर मुलुकको सामाजिक, सांस्कृतिक र शैक्षिक उत्थानमा समेत अतुलनीय योगदान गर्दै आएका मनकारी व्यक्तित्व चौधरीले लकडाउनका कारण ठूलो समस्या झेलिरहेका मझौला व्यवसायीलाई राहत होस् भनेर भाडा छुटको निर्देशन दिएका हुन् ।

उक्त मल व्यवस्थापनको जिम्मेवारी लिएको बिल्डिङ म्यानेजमेन्ट कम्पनी (बिएमसी) का सञ्चालक, सफल विज्ञापन व्यवसायी राजेन्द्र अर्यालले भाडा छुटबारे व्यवसायीलाई जानकारी गराए । चौधरीको यो निर्णयबाट मलका व्यवसायी निकै उत्साहित भएका छन् । मलमा व्यवसाय सञ्चालन गरिरहेका विदुर पौडेलले पलायनको खतरा टरेको प्रतिक्रिया दिए ।

मलका म्यानेजर उज्ज्वल केसीका अनुसार मलका व्यवसायीले सीमित समय पसल खोलेर ग्राहकलाई आवश्यक सामान उपलब्ध गराइरहेका छन् । सरकारले सपिङ कम्प्लेक्सहरु सञ्चालन गर्ने अनुमति नदिएको अवस्थामा ब्रान्डेड सामानका ग्राहकलाई विशेष व्यवस्था गरी व्यवसायीले सामान उपलब्ध गराउन चाहेपछि आफूहरुले सहजीकरण गरेको केसीको भनाइ छ ।