आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

कोरोना संक्रमितको मृत्यु भएपछि गोकर्णेश्वर-४ का केहि क्षेत्र शिल

गोकर्णेश्वर खबर२७ असार २०७७, शनिबार १२:५१ मा प्रकाशित (३ साल अघि) १८६३ पाठक संख्या

काठमाडौं – गोकर्णेश्वरमा कोरोनाका कारण एक जनाको मृत्यु भएपछि वडा – ४का केही स्थान शिल गरीएको छ ।
केएमसी अस्पताल सिनामंगलमा उपचारका क्रममा मृत्यु भएका ५३ वर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि वडा ४ मा सर्तकर्ता अपनाइएको हो ।

गोनपा ४ ले संक्रमितको घरवरपरको केही क्षेत्र शिल गरेको छ। वडा नं ४ को माइतीनेपाल चोक देखि इटिचोक सम्म सडकको दायाँबायाँ रहेका अत्यावश्यक सेवाका पसलहरु बाहेक अन्य पसलहरु पुर्णत बन्द गराइएको छ।

मृतकको घर आसपासका घरहरुमा डोरि टागी अन्य ब्यक्तिको आवतजावतमा समेत रोक लगाइएको वडाध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए ।

वडाको बिपद ब्यबस्थापन समिती र स्थानीय प्रहरीको सहयोगमा ती क्षेत्रलाई शिल गरिएको हो ।
मृतकको परिवार र मृतकसंग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट् ट्रेसिङ्ग गरि पिसिआर जाँच गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । सबैमा पिसिआर नेगेटिभ आए शिल खोलिने र कसैमा पोजिटिभ आए फेरि अर्को चरणको निर्णय गर्ने उनको भनाई थियो । मृतकको आजै नेपाली सेनाले पशुपति स्थित बिधुतिय शबदाह गृहमा अन्तिम संस्कार गरेको छ ।

मृतकको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालका निर्देशक डा. मुकुन्द राज जोशीले जानकारी दिए ।

ती पुरुष मिर्गौलाको बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो । श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो ।

कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट नआउँदै २५ गते उनको मृत्यु भयो । मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको छ ।