आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

गोकर्णेश्वर नगरपालिका वडा नं ४ का कोरोना संक्रमित ५३ वर्षीय पुरुषको मृत्यु

गोकर्णेश्वर खबर२७ असार २०७७, शनिबार ०९:१९ मा प्रकाशित (३ साल अघि) ४८२७ पाठक संख्या

काठमाडौं – केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा ४ का ५३ वर्षीया पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालका निर्देशक डा. मुकुन्द राज जोशीले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।

ती पुरुष मिर्गौलाको बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो । श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो ।

कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट नआउँदै २५ गते उनको मृत्यु भयो । मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको छ ।

नेपाली सेनाको टोलीले शनिबार विहान उनको शव व्यवस्थापन गरेको छ ।

संक्रमित पुरुषको मृत्यु भएपछि गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले उनको घर क्षेत्रलाई सिल गरि कन्ट्रयाक्ट ट्रेसिंगको काम शुरु गर्ने जानकारी दिएको छ।

कोरोना संक्रमणका कारण ति पुरुषको मृत्यु भए पश्चात वडा समितिको बैठक बसी वडाको चौतारा पन्च देखि ओरालो सम्मको क्षेत्रमा विपद व्यवस्थापन समितका सदस्यहरु परिचालन गरि सिल गर्ने निर्णय गरेको छ।

त्यस्तै उक्त बैठकले त्रसित बनेका वडावासीलाई संयम र सचेत रहन आग्रह गर्दै वडा नं ४ ले सावधानी अपनाउन अनुरोध गरेको छ ।