आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

गोकर्णेश्वरको नयाँपाटीमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला

गोकर्णेश्वर खबर१५ असार २०७७, सोमबार १२:१६ मा प्रकाशित (३ साल अघि) १२०९ पाठक संख्या

काठमाडौं – गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी २४ वर्षीय युवक धीरज राई झुण्डिएको अवस्थामा फेला परेको वृत्तका प्रहरी नायब निरीक्षक विकासबाबु न्यौपानेले बताएका हुन्।

घटनाका बारेमा थप अध्ययन भइरहेको छ ।

स्याङ्तानले घर निर्माणको जिम्मेवारी निर्माण व्यवसायी रेशम गुरुङलाई ८० लाख रूपैयाँमा ठेक्का दिएका थिए।

राईलाई निर्माण व्यवसायी गुरुङले घर कुर्न राखेको घरबेटी स्याङ्तानले बताए।

बिहान बेलुका निर्माणाधीन घर कुरेर बस्ने राई दिउँसो अन्यत्र काम गर्न जान्थे।

शनिबार बेलुकीसम्म राई ओहोरदोहोर गरिरहेका थिए। आइतबार एक्कासी भुण्डिएको अवस्थामा भेटिएको निर्माण व्यवसायी गुरुङले बताए।

हेड मिस्त्री उदयपुरका लक्ष्मण राईमार्फत चार महिनाअघि धीरज घर निर्माणस्थलमा आइपुगेको उनको भनाइ छ।

निर्माणाधीन घरमा सहयोगीका रूपमा समेत काम गर्ने राईको आफन्त नभएको र कोठासमेत नलिएकाले निर्माण सामग्री कुरेर त्यही बस्ने गरेका थिए।

मृतक राईको घरमा सम्पर्क गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।