आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

नेपाली काँग्रेस काभ्रेद्वारा प्रधानमन्त्रीलाई १२ बुँदे ज्ञापन–पत्र (ज्ञापन–पत्र सहित)

गोकर्णेश्वर खबर२ असार २०७७, मंगलवार १६:०२ मा प्रकाशित (३ साल अघि) २९६ पाठक संख्या

नेपाली काँग्रेस काभ्रेले जिल्ला प्रशासन कार्यालय, काभ्रे मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई १२ बुँदे ज्ञापन–पत्र बुझाएके छ । पार्टीको जिल्ला सभापति मधु आचार्यको नेतृत्वमा आज (मंगलबार) उक्त ज्ञापन–पत्र बुझाएको हो ।

सरकारको गैर जिम्मेवारी, अकर्मन्यता, कोरोना परिक्षण तथा क्वारेन्टाइन व्यवस्थापनमा भएको हेलचेक्र्याई तथा भ्रष्टचारको विरुद्ध ज्ञापन पत्र बुझाएको जिल्ला सभापति आचार्यले जानकारी दिएकाछन् ।

‘नेपाली कांग्रेसको निरन्तरको सहयोग, संचार माध्यम, नागरिक समाज र आम जनताको साथले सृजना गरेको अनुकूलताको वावजुद पनि सरकारको अकर्मण्यता, असक्षमता, असंवेदनशीलताको कारण कोरोना संक्रमण विरुद्धको लडाईमा अनपेक्षित क्षति वेहोर्न परेको छ ।’ आचार्यले भने, ‘हाम्रो सुझावलाई मनन् गरेर समयमा उपयुक्त कदमहरु चालिएको भए यस्तो अवस्था कदाचित हुने थिएन । तसर्थ कोभिड–१९ को प्रकोप नियन्त्रण गरि देश र जनतालाई विपद्बाट जोगाउन यो ज्ञापन पत्र बुझाएका हौं ।’
ज्ञापन–पत्र बुझाउन नेपालीका काँग्रेस काभ्रेका जिल्ला सचिव दिनेश लामा, सभासद तीर्थ लामा लगायतका नेता तथा कार्यकर्ताहरु पुगेका थिए ।

ज्ञापन–पत्रको पूणपाठ यस्तो छः
नेपालमा कोभिड–१९ को महामारी, त्यसबाट उत्पन्न परिस्थिति, तत्कालिन एवं दीर्घकालिन प्रभाव र नेपाल सरकारको भूमिका र तत्काल गर्नु पर्ने कार्य बारे नेपाल सरकारको ध्यानाकर्षण गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मिति २०७७ साल जेठ २६ गते सम्पन्न बैठकको निर्णय अनुसार श्रीमान् प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्री समक्ष यो ज्ञापन पत्र पेश गरेका छौं ।
नेपालमा २०७६ साल माघ ९ गते कोभिड–१९ को पहिलो संक्रमित व्यक्ति फेला परेको हो । सरकारी तथ्याङ्क अनुसार आजसम्म नेपालमा कोभिड–१९ को कारण देशभित्र १९ जना नेपालीको मृत्यु भैसकेको छ । देशभरिमा ६ हजार २ सय ११ जना संक्रमित छन् । १ लाख ३३ हजार ८ सय २९ मानिस क्वारेन्टीनमा छन । कोभिड–१९ कै कारणले उत्पन्न परिस्थितिमा कैयन नागरिकहरुले अन्य रोग, भोक, मानसिक तनावले जीवन गुमाइसकेका छन् । नेपाल बाहिर पनि विदेशमा विभिन्न मुलुकमा नेपाली नागरिको मृत्यु भएका र संक्रमित भएका छन । कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनु हुने सबै नेपाली दाजुभाइ–दिदिबहिनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ । संक्रमित सबैमा शिघ्र स्वास्थलाभको कामना गर्दछौ ।
नेपाली कांग्रेसका नेता, पार्टी सदस्य, भातृ एवं शुभेच्छुक संस्थाका साथी तथा सबै शुभेच्छुकहरु देशभरिनै आ–आफ्ना ठाँउबाट कोभिड–१९ विरुद्धको लडाईमा क्रियाशिलतापूर्वक काम गरिरहेका छन । विदेशमा पनि नेपाली जनसम्पर्क समिति र अन्य शुभेच्छुक साथीहरु जोखिम मोल्दै अहोरात्र खटिई काम गरिरहेका छन । यो कार्य निरन्तर जारी रहने छ ।
नेपाली कांग्रेसले प्रारम्भदेखि नै कोभिड–१९ को जोखिम, यसबाट उत्पन्न हुने तत्कालिन एवं दीर्घकालिन नकारात्मक प्रभाव, यस विपद्वाट उत्पन्न समस्यालाई न्यूनिकरण गर्ने र देश र जनतालाई जोगाउने उपायबारे सुक्ष्मरुपले अध्ययन र विश्लेषण गर्दै कोभिड–१९ विरुद्धको लडाईमा सरकार लगाायत सबैलाई सदैव साथ सहयोग दिने र सबै नेपाली एकताबद्ध भई यो विपद्का विरुद्धमा लड्ने हाम्रो प्रतिवद्धता रहि आएको छ ।
नेपाली कांग्रेसको निरन्तरको सहयोग, संचार माध्यम, नागरिक समाज र आम जनताको साथले सृजना गरेको अनुकूलताको वावजुद पनि सरकारको अकर्मण्यता, असक्षमता, असंवेदनशीलताको कारण कोरोना संक्रमण विरुद्धको लडाईमा अनपेक्षित क्षति वेहोर्न परेको छ । हाम्रो सुझावलाई मनन् गरेर समयमा उपयुक्त कदमहरु चालिएको भए यस्तो अवस्था कदाचित हुने थिएन । तसर्थ कोभिड–१९ को प्रकोप नियन्त्रण गरि देश र जनतालाई विपद्बाट जोगाउन तत्काल निम्न लिखित कार्य गर्न यस ज्ञापन पत्र मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौ –
(१) सामाग्रीको आपूर्ति: कोभिड–१९ को नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षाको लागि आवश्यक पर्ने सबै सामग्रीको तत्काल आपूर्ति गरियोस् । पिसिआर परीक्षणको दायरा विस्तारसँगै यसको क्षमता अभिवृद्धि गर्न आवश्यक किट, उपकरण, जनशक्ति र अन्य लजिस्टिक आवश्यकताको अविलम्व व्यवस्था गरियोस् ।
(२) क्वारेन्टाइन व्यवस्थापन: मापदण्ड अनुसार क्वारेन्टाइनको उचित व्यवस्थापन र संचालन गरी पिउने पानी, खाना, सुरक्षित दूरी सहित बस्ने व्यवस्था, शौचालय, उमेर र स्वास्थ्य अवस्थाको अभिलेख तथा नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधि, एम्बुलेन्स, परीक्षण तथा नियमित परामर्शको व्यवस्था गरियोस् । क्वारेन्टाइन संचालन गर्न स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधिक स्रोत तत्काल उपलब्ध गरियोस् । सरकारले राजनीतिक आस्था र आग्रहका आधारमा स्थानिय तहलाई हेरिरहेको छ । यस्ता कार्य तत्काल बन्द गरियोस् ।
(३) परीक्षण: विश्वसनीय प्रविधिबाट बढी भन्दा बढी नागरिकको परीक्षणको व्यवस्था गरियोस् । पिसीआर परीक्षण गर्नु पर्नेको दायरा विस्तार गरी क्वारेन्टाइनमा राखिएका सबैलाई पीसिआर विधिबाट परीक्षण गरे पश्चात मात्र घर पठाउने, मृत्यु भएका व्यक्तिको शवको अनिवार्य स्वाव परीक्षण गर्ने, आइसोलेसनमा रहेका व्यक्तिको परीक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गरियोस् ।
(४) अस्पतालको व्यवस्थापन: कोरोना संक्रमणको उपचारका लागि डेडिकेटेड अस्पताललाई आवश्यक उपकरण, सामग्री, औषधी, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेसन बेड र जनशक्तिको व्यवस्था अविलम्व गरियोस् । अन्य रोगका सम्बन्धमा सबै सेवा विना अवरोध पाउने सुनिश्चिता गरियोस् । लकडाउनको अवधिमा सयकडौं मानिसहरुले आत्महत्या गरेका छन् । यसले नागरिकको राज्यकाप्रति चरम निराशा देखाउँछ । यस्ता समस्याको समाधानका लागि सरकारले आवश्यक कार्य गरोस् ।
(५) भ्रष्टाचार अनियमितता होईन पारदर्शिता: राष्ट्र विपत्मा रहेको बेला स्वास्थ्य सामग्री खरीद जस्तो विषयमा निरन्तर भ्रष्टाचार कमीसनको जालो भइरहनु निर्लज्ताको पराकाष्ठा हो । सरकार कोभिड–१९ नियन्त्रण गर्ने कार्यका लागि १० अर्ब खर्च भएको भनिरहेको छ । त्यसको पचास प्रतिशत पनि काम भएको छैन । त्यसको पारदर्शी हिसाब सार्वजनिक गरियोस् । हालसालै पनि स्वास्थ्य सामग्री खरीदमा अनियमितता भएको विषय सार्वजनिक भएको छ । यी सबै भ्रष्टाचार, अनियमीतता बारे छानबिन गरीे तत्काल सार्वजनिक रुपमा जानकारी गरियोस् ।
(६) राहत वितरण: राहत दिनु पर्ने श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका नागरिक र एकल महिला लगायतलाई न्यायोचित ढंगले राहत वितरण गरिने व्यवस्था गरियोस् । राहतका खाद्य सामग्रीको गुणस्तर कायम गरियोस् र राहतको वितरण भनसुन र राजनीतिक आग्रहका आधारमा गरिने काम बन्द गरियोस् ।
(७) विदेशवाट नागरिकको उद्धार: काभ्रे लगायत विभिन्न जिल्लाका विदेशमा बिचल्लीमा परि घर आउन चाहने नेपालीहरुलाई सुरक्षित तवरले मर्यादापूर्वक अविलम्व स्वदेश ल्याउने व्यवस्था गरी स्वास्थ्य परीक्षण एवं व्यवस्थित क्वारेनटाईनको प्रवन्ध मिलाउने तर्फ गम्भिरतापूर्वक पहल गरियोस् । यसको लागि छुट्टै डेस्कको व्यवस्था मिलाईयोस् । विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन आवश्यक काम होस् ।
(८) रोजगारी: देशभित्र र बाहिर लाखौं नेपालीहरुले रोजगारी गुमाएको वर्तमान अवस्थामा व्यापक रोजगारीको सिर्जना गर्न आवश्यक छ । संसद कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, राष्ट्रपति शिक्षालगायतका कार्यक्रम हटाएर पालिकास्तरमा उत्पादनमुखी रोजगारीको व्यवस्था गर्न निर्देशिका सहित पालिकामा पठाईयोस् ।
(९) कृषि र खाद्य सुरक्षा: अहिलेको विपद्ले खाद्य अभाव भई भोकमरीको संकट आउन सक्दछ । जीवन निर्वाहको चुनौतिबाट गुज्रिरहेको वर्तमान अवस्थामा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु आजको आवश्यकता हो । बीउ विजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदान मार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पुर्‍याउने कार्य गरियोस् । जिल्लाका केही भागमा अतिवृष्टि, फौजी किरा र अन्य संक्रमणबाट पीडित छन । तिनलाई राहत दिलाई कृषि उत्पादन बढाउन र उत्पादित वस्तुहरुलाई बजारसम्म सहजै पुर्‍याउन शीघ्र आवश्यक कदम चालियोस् ।
(१०) आर्थिक क्षेत्र: अर्थतन्त्रलाई चलायमान गर्ने तयारी तत्कालै गर्न आवश्यक छ । देशका साना, ठूलो उद्योग, व्यापार, व्यवसाय ठप्प भएका छन । औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरु तथा सानोतिनो स्वःव्यवसाय गरी जिविकोपार्जन गर्ने उद्यमी र श्रमजीवीहरु ठूलो आर्थिक कठिनाईबाट गुज्रिरहेका छन । यस अवस्थामा साना, ठूलो उद्योग, व्यापार, व्यवसायको संरक्षण र तमाम श्रमिक मजदूर उद्यमीहरुको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहत प्याकेज घोषणा गरियोस् ।
(११) विकासमा विभेद: कोभिड–१९ को आतंकमा रुमलिएको वेलामा पनि सरकार शिक्षा, स्वास्थ्य र विकास निर्माणका काममा समेत पक्षपातरुपले प्रकट भएको छ । नेपाली काँग्रेसको पालामा स्वीकृत भएका, डि.पि.आर. सम्पन्न भएका र चालू आयोजना समेत पूर्वाग्रहवश छुट्याउने, एकदमै न्यून वजेट राख्ने वा तोडमोड गर्ने काम भएको छ । कतिपय स्थानमा उपभोक्ता समिति गठनमा समेत मापदण्ड विपरितका गतिविधि भएका छन । यस्ता विभेदपूर्ण निर्णयहरु सच्याइयोस र आईन्दा यस्ता विभेदपूर्ण गतिविधि नहुनेतर्फ गम्भिर ध्यान पु¥याईयोस ।
(१२) बढी पीडित, बढी सेवा: एकद्वार प्रणालीको नाममा विभेदकारी व्यवहारहरु भैरहेको पाएको हुँदा “बढी पीडित, बढी सेवा” को मर्म अनुसार समान व्यवहार सुनिश्चित गरियोस् ।
जय नेपाल !
………………..
मधु आचार्य
सभापति
नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, काभ्रे