आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

पत्रकार उजिर मगरलाई मार्ने धम्की

गोकर्णेश्वर खबर१८ श्रावण २०८०, बिहीबार १८:०७ मा प्रकाशित (९ महिना अघि) १९७ पाठक संख्या

काठमाडौं । पत्रकार उजिर मगरलाई समाचारको विषयलाई लिएर मार्ने धम्की आएको छ ।

नेपाल पत्रकार महासंघका पूर्वमहासचिव मगरलाई सुन तस्करीमा पक्राउ परेका दावा छिरिङका बारेमा समाचार लेखेको भन्दै उनका आफन्तले मार्ने धम्की दिएका हुन् । पूर्वमहासचिव मगरलाई मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघले घोर आपत्ति जनाएको छ ।

द्वन्द्वकालदेखि सशक्त सक्रिय पत्रकार मगरले २०८० साउन १६ गते मंगलबार ‘लोकान्तर डट्कम’ मा ‘सुनकाण्डमा माओवादीका रोल्पाली नेतालाई टाउको दुखाइ बनेकी थबाङकी अमला’ शीर्षकमा सुन तस्करीमा संलग्न भनी अनुसन्धानका लागि पक्राउ परेका तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङका बारे खोजमूलक समाचार सम्प्रेषण गर्नुभएको थियो । दावा छिरिङका आफन्तले त्यही विषयलाई लिएर पत्रकार मगरलाई मार्ने धम्की दिएका हुन् ।

पत्रकार मगरले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका दावा छिरिङकी पत्नी अमला रोकाका बहिनी ज्वाइँ ।बिन्दु बूढाकां श्रीमान बागलुङ, ढोरपाटन–४, वर्ष ४६ का खगेन्द्र छन्त्याल, कमलाकी भान्जी दीपा श्रेष्ठ, दाइ अमरले आफूलाई मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालबाट बदनाम गर्ने काम गरिरहेको महासंघलाई जानकारी गराउनुभएको छ ।छिरिङसँग नाता जोडेका खगेन्द्र छन्त्यालले पनि पत्रकार ‘मगरलाई ‘जहाँ भेटिन्छ त्यहीँ मार्ने’ धम्की दिएका छन् ।

पत्रकार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोज्नसकिने प्रावधान र स्थापित पद्धति हुँदाहुँदै मार्ने धम्की दिनु र सामाजिक सञ्जालमा बदनाम गर्ने काम हुनु अत्यन्त निन्दनीय तथा प्रेस स्वतन्त्रताको ठाडो उल्लघंन भएको जनाउनुभएको छ ।

सुन तस्करीको आरोपमा पक्राउ परेका छिरिङको नाममा पत्रकारमाथि खुलेआम सुरक्षा चुनौती आउनुले पत्रकारको सुरक्षाको विषय गम्भीर बनेको महासंघको ठहर छ । महासंघले घटनालाई गम्भीरतापूर्वक लिई दोषीमाथि कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर हुन सरकारसँग माग गरेको छ ।