आज: १९ जेष्ठ २०८१, शनिबार | Sat, 01, Jun, 2024

अज्ञात समूहद्वारा माओवादी नेतामाथि गोली प्रहार

गोकर्णेश्वर खबर६ जेष्ठ २०७८, बिहीबार ०९:३७ मा प्रकाशित (३ साल अघि) ८५७ पाठक संख्या

कपिलवस्तु । कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका नेतामाथि गोली प्रहार भएको छ।

माओवादीका जिल्ला सदस्य दीपक पाण्डेमाथि गएराति करिब ११ बजेतिर गोली प्रहार भएको हो । उनको पेटदेखि बाँयातिरको कम्मरमा गोली लागेको प्रहरीले बताएको छ।

तौलिहवा–जितपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा गोली प्रहार भएको हो ।

गोली प्रहार गर्ने समूहको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

पाण्डेसँगै मोटरसाइकलमा सवार भारतीय नागरिक इराज अख्तर मुलसमानको पाखुरामा गोली लागेको छ ।

तौलिहवातर्फ जादै गरेका पाण्डेलाई एक मोटरसाइकलमा सवार ३ जनाको समूहले मोटरसाइकल रोकेर गोली हानेको प्रहरी अनुशन्धानबाट खुलेको छ ।

घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए । पाण्डेको अवस्था मध्यम रहेको उनले बताए ।

पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यावसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।