आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

पूर्व युवराज पारसको क्यारिकेचरले भरतमणिले मच्चाए बबाल

गोकर्णेश्वर खबर१४ भाद्र २०७८, सोमबार १०:१० मा प्रकाशित (२ साल अघि) ११९ पाठक संख्या

काठमाडौं । ताप्लेजुङ निवासी युवा भरतमणि पौडेल ‘कमेडी च्याम्पियन सिजन २’ को पहिलो फाइनलिस्ट बनेका छन्।

शनिबार राति प्रसारण भएको शृंखलामा पूर्व युवराज पारस शाहको स्वरुपमा उत्रिएर उत्कृष्ट प्रस्तुति दिएपछि उनी सिधै फाइनल पुगेका हुन्।

भरतमणिले यो साता आफूलाई भोटिङ नगर्न भन्दै फाइनल राउन्डका लागि साँचेर राख्न सबैलाई आग्रह गरेका छन् ।

कमेडी च्याम्पियन सिजन २ को सुरुदेखि नै भरतमणि चर्चामा छन्। एमाले नेता गोकुल बास्कोटाको क्यारिकेचर दुरुस्तै गरेर चर्चा बटुलेका उनले शनिबार राति पूर्वयुवराज पारस शाहको गेटअपमा प्रस्तुति दिए।

भरतमणिको यो प्रस्तुतिलाई धेरैले मन पराएका छन्। पारस र राजतन्त्र समर्थकले भने पारसलाई हाँसोको पात्र बनाएको भन्दै आलोचना पनि गरेका छन्।

पूर्वयुवराज पारस शाहको नक्कल गर्दै अभिनय गरेका भरतमणिको भिडियोको ट्रेलर शुक्रबार नै युट्युबमा राखिएको थियो।

जुन ट्रेन्डिङमा आइसकेको छ। भरतमणिले पूर्वराजा ज्ञानेन्द्र शाह, लोसपा नेता राजेन्द्र महतोको क्यारिकेचर पनि हुबहु गर्ने गरेका छन्।

खासगरी उनले घरबेटीको प्रसंग आफ्ना प्रस्तुतिमा दिँदा दर्शकले निकै मन पराएका छन्।