आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले दिए प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने अभिव्यक्ति

गोकर्णेश्वर खबर४ कार्तिक २०८०, शनिबार ११:३२ मा प्रकाशित (६ महिना अघि) १४४ पाठक संख्या

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताएका छन्।

माओवादी केन्द्रले शुक्रबार भक्तपुरको मध्यपुरथिमिमा गरेको दसैँ शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री जम्मरकट्टेलले बागमती प्रदेशको नाम र राजधानी दुबै अनुपयुक्त भएको दाबी गरे।

‘प्रदेशको नाम बागमती कायम भएकोप्रति धेरै जनता खुसी छैनन्,’ मुख्यमन्त्री जम्मकट्टेलले भने, ‘प्रदेश राजधानी पनि हेटौँडा अपायक भयो।’

प्रदेशसभामा आफूले अन्तिम समयसम्म प्रदेशको नाम नेवा–ताम्सालिङ नै हुनुपर्छ भनेर अडान लिए पनि त्यतिबेला सम्भव हुन नसकेको उनले बताए।

‘प्रदेशको नाम बागमती परिवर्तन गरेर नेवा–ताम्सालिङ नै राखिनुपर्छ, प्रदेश राजधानी हेटौँडामा अपायक छ, प्रदेशको एउटा कुनामा छ, चितवन र मकवानपुरबाहेक अरु ११ जिल्लालाई पायक पर्दैन,’ उनले भने, ‘सबैलाई पायकपर्ने गरी प्रदेश राजधानी धुलिखेलनै राखिनुपर्छ, उपयुक्त समय आएपछि राजनीतिक सहमतिबाटै राजधानी र नाम दुबै परिवर्तन हुन्छ र त्यो प्रदेशसभाको अधिकार पनि हो।’