आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

आफूलाई अभियान्ता बताउँने सापकोटाले ‘एमसीसी खारेज गर्’ भन्दै हानेका थिए यादवमाथि खुकुरी

गोकर्णेश्वर खबर२० भाद्र २०८०, बुधबार १७:१२ मा प्रकाशित (१ साल अघि) १४९ पाठक संख्या

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका युवक श्याम सापकोटाले आफूलाई अभियान्ता भनेर चिनाउँदै हिँड्ने गरेको खुलेको छ।

बुधबार दिउँसो रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर निस्कँदैगर्दा सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए।

नुवाकोट घर भएका सापकोटा आफूलाई अभियान्ता बताउँदै हिँड्ने गरेको पाइएको काठमाडौं परिसरका एसपी कुमोद ढुंगेलले जानकारी दिए।

यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार भृकुटीमण्डपस्थित रिपोर्टस क्लब नेपालमा भएको साक्षात्कार कार्यक्रममा सापकोटा सहभागी थिए।

नुवाकोटको विदुर नगरपालिका–७ तुप्चे घर भई हाल बालाजु पैयुटार बस्ने ४७ वर्षीय सापकोटाले आफूलाई राजावादी बताएका छन्।

ट्रमा अस्पताल उपचाररत यादवको टाउकोको पछाडी भागमा गहिरो चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

श्यामबाबु सापकोटालाई प्रहरीले तत्काल खुकुरी सहित नियन्त्रणमा लिई अनुसन्धान कार्य जारी राखेको छ।