आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

सय केजी सुन प्रकरणबारे व्यवसायी दीपक मल्होत्राले भने- बरामद भएको सुनमा मेरो संलग्नता छैन

गोकर्णेश्वर खबर४ श्रावण २०८०, बिहीबार १५:१२ मा प्रकाशित (१ साल अघि) १३० पाठक संख्या

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमास्थलबाट बरामद भएको सुन आफूले नल्याएको बताएका छन्।

बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन्।

मंगलबार बरामद भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको समाचार आएको थियो।

मल्होत्राले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन्।

उनले उक्त समाचारप्रति आफ्नो आपत्ति रहेको र त्यसको खण्डन पठाउने बताए।

‘खण्डन नछापे म त्यो सञ्चारमाध्यमविरूद्ध कानुनी उपचारमा जान्छु,’ उनले भने।

उनले आफू कुनै अवैध धन्दामा संलग्न नरहेको र त्यसबारे सोच्दा पनि नसोचेको बताए।

‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु,’ उनले भने।