आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

भुम्लु गाउँपालिकाको उदाहरणीय कार्य ‘सार्वजनिक श्रम अभियान’

गोकर्णेश्वर खबर३ श्रावण २०७९, मंगलवार ०९:३६ मा प्रकाशित (१ साल अघि) ३२३ पाठक संख्या

३ साउन, काठमाडौं । काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले महिनाको एकदिन बिदाको दिन पारेर उदाहरणीय कार्यको शुरु गरेको छ । गाउँपालिकाले सार्वजनिक क्षेत्रको सरसफाई गर्ने उदेश्यले वृहत सार्वजनिक श्रम अभियान सुरु गरेको हो ।

अभियान गाउँपालिकाका सार्वजनिक क्षेत्रको सरसफाई, वातावरण संरक्षण तथा वृक्षारोपण जस्ता कार्य गर्ने उदेश्यले ल्याईएको गाउँपालिकाका उपाध्यक्ष दावा लामाले बताए ।

यस अभियान अन्र्तगत सबै मिलेर महिनाको एक दिन बिदाको दिन पारेर सार्वजनिक स्थल सरसफाई गर्ने उदेश्यले गरिएको अभियानलाई पहिलो दिन सहभागिहरुले सकारात्मक रुपमा लिएर उल्लेख्य सहभागिता जनाएको लामाले बताए । यस्ता कार्यले सार्वजनिक स्थलको संरक्षण र सरसफाईमा टेवा पुग्नुका साथै समाजमा सकारात्मक प्रभाव पार्ने उपाध्यक्ष लामाले विश्वास व्यक्त गरे ।

पहिलो श्रम अभियान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, कर्मचारीहरु, विभिन्न संघसंस्थाहरु, नागरिक समाज, सुरक्षाकर्मी र राजनीतिक दल लगायतको सहभागिता रहेको थियो ।

श्रम अभियानको पहिलो दिन असार १८ गते दोलालघाट-सल्ले सडक अन्तर्गत घट्टेखोला, डुम्रे खण्डमा सडकको दायाँबायाँमा रहेको अनावश्यक झाडीहरुलाई सफा पारिएको थियो ।