आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

विधानमा साम्यवाद र वर्ग सङ्घर्ष लेख्न निर्वाचन आयोगले रोक लगाएपछि माओवादी केन्द्रले जनायो आपत्ति

गोकर्णेश्वर खबर१३ पुष २०७८, मंगलवार ०७:१८ मा प्रकाशित (२ साल अघि) ४३६ पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ।

निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्ग सङ्घर्ष लेख्न रोक लगाएको छ।

आयोगको उक्त निर्णयप्रति माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आपत्ति जनाएका छन्।

आयोगले माओवादी केन्द्रको विधानमा रहेको साम्यवाद, वर्ग सङ्घर्ष, जनक्रान्ति भन्ने शब्द हटाएर मात्रै विधानलाई अद्यावधिक गरेको थियो।

माओवादी केन्द्रको जारी राष्ट्रिय महाधिवेशनको बन्दसत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महराले आयोगको निर्णयको प्रतिवाद गरेका थिए।

‘कम्युनिस्टहरूको शब्द नै साम्यवाद हो। त्यो नै हटाएपछि त केही बाँकी रहेन। निर्वाचन आयोगको उक्त निर्णयप्रति हामी सहमत हुन सक्दैनौँ। हामी छलफल गरेर निष्कर्षमा पुगौँला,’ उनले भने।

प्रवक्ता महराले पार्टीको नाम, स्वतन्त्रता र विचार उसको मार्गदर्शक सिद्धान्तका आधारमा बन्ने भन्दै आयोगले यस विषयमा लचकताका साथ सोच्नेछ भन्ने विश्वास व्यक्त गरेका थिए।

संविधान र कानुनमा नभएको कुरा विधानमा राख्न मिल्दैन भन्दै आयोगले माओवादीको विधानबाट ती शब्द हटाइदिएको छ।

माओवादीले भने आयोगको सो निर्णय अस्वीकार गरेको छ।

माओवादीको विधानमा वर्ग सङ्घर्षलाई समाज विकासको मुख्य आधार भन्ने उल्लेख गरिएको छ।

नेकपा (एमाले) ले पनि आयोगको उक्त निर्णयको प्रतिवाद यसअघि नै गरिसकेको छ।

एमालेका उपमहासचि विष्णु रिमाल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाललगायतले आयोगमा पुगेर दलहरूले आफ्नो लक्ष्य विधानमा उल्लेख गर्न पाउने अधिकार रहेको जनाएका थिए।