आज: २३ बैशाख २०८२, मंगलवार | Tue, 06, May, 2025

कपनको ढलमा परेका १० वर्षीय उज्ज्वलको शव ललितपुरमा भेटियो

गोकर्णेश्वर खबर१० आश्विन २०७८, आईतवार ११:१६ मा प्रकाशित (३ साल अघि) २८० पाठक संख्या

काठमाडौं । काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ।
ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका थिए।

ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो। महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शनिबार साँझ स्थानीयले शव बागमती नदी किनारमा देखेका थिए।

‘उनको अनुहार चिन्न गाह्रो हुने खालको छ। उनले कपन मावि लेखेको लुगा लगाएको भेटिएको छ,’ बज्राचार्यले भनिन्, ‘चापागाउँमा बस्ने उनको माइजु नाता पर्ने महिला शव फेला परेको स्थानमा आउँदै हुनुहुन्छ।’