आज: २ जेष्ठ २०८२, बिहीबार | Thu, 15, May, 2025

सुवर्ण पुत्रको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले ओढाए कांग्रेसको झण्डा

गोकर्णेश्वर खबर२६ भाद्र २०७८, शनिबार १२:५४ मा प्रकाशित (३ साल अघि) २०६ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता सुवर्णशमशेरका कान्छा सुपुत्र रुक्मशमशेर राणालाई चारतारे झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन्।

उनले पार्टीका नेताहरु पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, काठमाडौं सभापति कृष्ण सबुज बानियाँलगायतका नेताहरुसहित पार्टीको झण्डा ओढाएर राणाको निधन प्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

सभापति देउवा राणाको निधनको खबर पाएपछि बत्तिसपुतलीस्थित निवासमा पुगेका थिए। भारतका लागि पूर्व नेपाली राजदूत राणाको शुक्रबार राति ८५ वर्षको उमेरमा निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

मिर्गौलाका बिरामी राणा लामो सयमदेखि उपचारका क्रममा थिए। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित डाइलाइसिस गराउँदै आएका थिए। उनी नेपाल(भारत संयुक्त लगानीमा रहेको डावर नेपालका प्रबन्ध निर्देशकसमेत थिए।

राणा नेपाली कांग्रेसका संस्थापक नेता शुवर्ण शमसेरका कान्छा छोरा हुन्। सन् २००९ देखि २०११ सम्म उनी भारतको राजदूत बनेका थिए।

उनले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दुईपटक सदस्यसचिवको जिम्मेबारीमा रहेर समेत काम गरेका थिए।