आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

सरकारको विरोध गर्नेविरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

गोकर्णेश्वर खबर३ असार २०७८, बिहीबार १६:३६ मा प्रकाशित (२ साल अघि) ३१९ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरु विरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै सरकारका विरुद्धमा विरोधीहरुले कुप्रचार गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिनका लागि निर्देशन दिएका हुन्।

विरोधीहरु आक्रामक ढंगले प्रस्तुत भएको भन्दै उनले सरकारको कामको प्रचार प्रसार गर्न र विरोधीको खण्डन गर्न आग्रह गरे।

उनले भने, ‘हरेक मन्त्रीहरुलाई सरकारको कामको प्रचार गर्न र विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरुको डिफेन्ड गर्न अनुरोध छ।’

प्रधानमन्त्री ओलीले यत्रो समय कटाएको भएपनि सरकार ढाल्न नसकेर अदालतको साहारा लिन पुगेको टिप्पणी पनि गरे। उनले यस वर्ष अघिल्ला वर्षहरुमा जस्तो तराई डुबानमा नपर्ने पनि बताए। नेपाल भारत सीमा क्षेत्रमा लगाएको बाँध पहिले खुल्ला नछोडिने गरेका कारण डुबान भएको भन्दै उनले यसवर्ष बाँधलाई खोलिएको बताए। अन्य विभिन्न ठाउँमा पनि बाँध खोलिँदै जाने उनले बताए।

बाँधका कारण नेपाली भूमि डुबानमा पर्ने विषयमा सर्वे गर्न संयुक्त टोली आवश्यक रहेको र त्यस निम्ति काम गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिए।

उनले भने, ‘जुन डुबान क्षेत्रहरु हो त्यहाँ हामीले अलिकति खोलेका छौँ। अरु ठाउँहरुमा पनि खोल्दै जानु आवश्यक छ। यसका निम्ति संयुक्त टोलीले सर्भे गर्ने, संयुक्त टोलीले निर्णय गर्ने र संयुक्त टोलीलाई खटाउनुपर्ने यही बेला हो। सिमावर्ती क्षेत्रका बाँध, जसबाट नेपालको भूमि डुबानमा परेको छ त्यो कुरा संयुक्त टोलीले हेर्ने विषयतर्फ कार्य गर्न सक्छौँ।’

प्रधानमन्त्री ओलीले सरकारले चुरे दोहन गर्न नखोजेको स्पष्ट पारे। सरकार चुरेको संरक्षणका लागि ठोस योजनाका साथ लागेको उनले बताए।

उनले भने, ‘हामीले चुरे दोहन नहोस् भन्नका लागि बजेटमा चुरे दोहन नगर्ने, चुरेको दोहनलाई रोक्ने, त्यहाँबाट ढुंगा, बालुवा, गिट्टी आदी निकाल्ने काम रोक्ने, खानि पत्ता लगाउने त्यो खानी उपयुक्त छ की छैन वातावरणीय सर्भे गर्ने, वातावरण अनुकुल हुन्छ कि हुँदैन वातावरणीय सर्भे गरेर अनिमात्रै खानिबाट गिट्टी बालुवा निकाल्ने। अब बढी भयो भनेदेखि त हामीले बिक्री पनि गरेर व्यापार पनि गर्न सक्छौँ त्यसमा भन्ने कुरा हो। त्यो कुनै अनौठो कुरा होइन। हामीले चुरेको संरक्षण गर्न खोजेको। हामी चुरे विनास होइन चुरेको संरक्षण गर्न लागि पर्याछौँ। चुरेको संरक्षण गरिन्छ। ठोस योजनाका साथ हामी लाग्या छौँ।’

उनले अहिले नयाँ बाटो बनाउने काम जोखिमयुक्त भएकाले भदौसम्म नयाँ बाटो खन्ने तथा पहाडहरु भत्काउने काम रोक्नुपर्ने पनि बताए।