आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

आफ्नै श्रीमानले छ्यापे श्रीमतीमाथि एसिड

गोकर्णेश्वर खबर३० जेष्ठ २०७८, आईतवार ०९:५८ मा प्रकाशित (२ साल अघि) २६६ पाठक संख्या

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलामाथि एसिड प्रहार भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षीया दीपिका विकमाथि एसिड प्रहार भएको हो ।

घरायसी विवादमा दीपिकालाई उनकै श्रीमान दीपकले शनिबार साँझ एसिड प्रहार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

दीपिकाको बायाँ हात र पेटमा एसिड परेको छ । उनको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । दीपिकाको शरीरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

पीडित महिलाका अनुसार शनिबार साँझ ६ बजेतिर विवाद हुँदा उनका श्रीमान घरबाट बाहिर निस्किएका थिए । बोतलमा केही चिज ल्याएर छ्याप्न खोज्दा आफूले खोस्ने क्रममा हात र पेटमा परेको दीपिकाको भनाइ छ ।

चन्द्रपुरमा सुनचाँदी गहना पसल सञ्चालन गरेका विकले सोही पसलबाट एसिड लगेर श्रीमतीलाई प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।

४२ वर्षीय दीपकलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि आवश्यक अनुसन्धान पछि कानून बमोजिमको कारबाही हुने डीएसपी लामिछानेले बताए ।