आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

सरकारको अकर्मन्यताले कोरोना फैलिइरह्यो : सभापति देउवा

गोकर्णेश्वर खबर१८ बैशाख २०७८, शनिबार १०:२१ मा प्रकाशित (३ साल अघि) ४३७ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना रोकथाम र नियन्त्रणमा गम्भीर नभएको बताएका छन्।

बुढानिलकण्ठमा शुक्रबार अपरान्ह ३ बजे आकस्मिक पत्रकार सम्मेलन गरेका देउवाले सरकारको अकर्मन्यताले कोरोना फैलिइरहेको बताए।

सरकारले तडकभडकका साथ भिडभाड गर्दै अधुरा आयोजना उद्घाटन गरिरहेको देउवाको भनाइ छ। यस्ता भिडभाडले कोरोना संक्रमण थप फैलने देउवा बताउँछन्।

काठमाडौं उपत्यका छाड्ने समय दिएर गाउँमा थप कोरोना फैलने वातावरण सिर्जना गरिएकोप्रति देउवाले असन्तुष्टि जनाएका छन्।

‘कम संक्रमित भएका गाउँमा परीक्षण नै नगरी उपत्यकाबाट मानिसहरू जान दिइयो, यसले गाउँमा थप संक्रमणको खतरा देखिएको छ,’ देउवाले भने।

उनले काठमाडौं उपत्यकालगायत केही जिल्लामा १५ दिने निषेधाज्ञा लगाइएको भन्दै यो समयमा सरकारले विभिन्न काम तथा तयारी गर्नुपर्ने सुझावसमेत दिएका छन्।

देउवाले अक्सिजन, भेन्टिलेटरलगायत अत्यावश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

‘अक्सिजन, भेन्टिलेटरको तत्काल आपूर्ति गरियोस्। अस्पतालमा आइसियूलगायत स्वास्थ्य पूर्वाधार र औषधिको समुचित व्यवस्था गरियोस्,’ देउवाले भने।

साथै सबै जिल्लामा कन्ट्याक ट्रेसिङको व्यवस्था गर्न र व्यापक रूपमा पिसिआर परीक्षण गर्न सरकारलाई देउवाले ध्यानाकर्षण गरेका छन्।

उनले सीमा नाकामा अनिवार्य पिसिआर परीक्षण गर्न पनि सरकारलाई सुझाव दिएका छन्।

‘सीमा नाकामा अनिवार्य परीक्षण गर्न र परीक्षणको रिपोर्ट प्राप्त नहुञ्जेल होल्डिङ सेन्टरमा राख्न तथा पोजेटिभ आएमा स्थानीय तहसँग समन्वय गरी आइसोलेसनमा राख्ने व्यवस्था गर्न माग गर्दछु,’ देउवाले भने।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीलगायतलाई जोखिम भत्ताको सुनिश्चित गर्न देउवाको माग छ। स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हुन सक्ने भएकोले सरकारी र निजी अस्पतालका लागि आवश्यक जनशक्ति व्यवस्थापनको जोहो मिलाउन पनि कांग्रेसले माग गरेको छ।

साथै देउवाले प्राविधिकतर्फका स्वास्थ्य सचिव सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गरेका छन्।

सरकारले कोरोनाविरूद्ध खोप आपूर्तिको सुनिश्चितता र प्रभावकारी पहलकदमी गर्नुपर्ने देउवा बताउँछन्।

विदेश जाने संख्यालाई ध्यानमा राखेर पिसिआर परीक्षण गर्ने अस्पतालहरू धेरै संख्यामा तोक्न पनि कांग्रेसको माग छ।

कोरोना महामारीमा परेकाहरूलाई राहत दिन उनले सरकारको ध्यानाकर्षण गरेका छन्।

‘साना व्यवसायीलाई राहत र सहयोगको कार्ययोजना सरकारले ल्याउनुपर्छ,’ देउवाले भने। स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड कडाइका साथ पालना गर्न अनुगमन गर्न पनि उनले सरकारसँग माग गरेका छन्।

देउवाले कांग्रेसले पनि महामारीका बेला केही कामहरू गर्ने बताए। स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै केन्द्रदेखि तल्ला तहका पार्टी संरचनाले सचेतना अभियान सञ्चालन गर्ने देउवा बताउँछन्।

कोरोनाका बिरामीले उपचार पहुँच नपाएको भए सहयोग गर्न उनले पार्टी संगठनलाई निर्देशन दिएका छन्। ‘आर्थिक र सामाजिक रूपमा समस्या परेकालाई सहयोग गर्न अभियान चलाउन निर्देशन दिन्छु,’ देउवाले भने।

अमेरिकाले खोप सहयोग गर्न लागेको भन्दै उनले उक्त निर्णयको स्वागत गरेका छन्। साथै भारत र चीनले विगतमा नेपाललाई खोप उपलब्ध गराएकोले धन्यवादसमेत दिए।