आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्रीको डेढ घन्टा गफगाफ

गोकर्णेश्वर खबर१३ फाल्गुन २०७७, बिहीबार २३:३८ मा प्रकाशित (३ साल अघि) ८३२ पाठक संख्या

काठमाडौँ – सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब डेढ घन्टा बिताएर प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्केका छन्।

सर्वोच्चको पाँच सदस्यीय संवैधानिक इजलासले मंगलबार संसद पुनर्स्थापना गर्दै १३ दिनभित्र संसदको पहिलो बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीका नाममा निर्देशनात्मक आदेश गरेपछि बिहीबार शीतलनिवास पुगेका प्रधानमन्त्री ओलीले आगामी राजनीतिक कदमबारे छलफल गर्न राष्ट्रपति भण्डारीसँग भेटेका हुन्।

साँझ ७ बजेर १० मिनेट जाँदा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली ८ बजेर ५० मिनेटमा बाहिरिएका थिए।

संसद विघटनको कदम सर्वोच्च अदालतले उल्ट्याइदिएपछि राष्ट्रपति भण्डारीमाथि महाभियोग लगाउनेबारे पनि दलहरुबीच अनौपचारिक छलफल भइरहेका अवस्थामा प्रधानमन्त्री शीतलनिवास पुगेका हुन्।

बुधबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सूर्य उदाउँदा पनि रातै हुने र अस्ताउँदा पनि रातै हुने भन्दै आफ्नो प्रधानमन्त्रीत्वकालको अन्त्य हुन लागेको संकेत गरेका थिए।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच संसदको बैठक कहिले डाक्नेभन्नेबारे छलफल भएको बुझिएको छ।