आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

मानव बेचविखनको आरोपमा चाबहिलबाट एक पक्राउ

गोकर्णेश्वर खबर११ फाल्गुन २०७७, मंगलवार १७:०६ मा प्रकाशित (३ साल अघि) ९१९ पाठक संख्या

काठमाडौं – मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले मोरङ कटहरी गाउँपालिका ४ घर भई काठमाडौं महानगर चक्रपथ बस्ने ३५ वर्षीय रामकुमार चौधरीलाई पक्राउ गरेको हो।

ब्युरोका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) ढुण्डीराज न्यौपानेका अनुसार उनलाई प्रहरीले आइतबार चाबहिलबाट पक्राउ गरेको हो।

उनीविरूद्ध २०७४ साउन २३ गते प्रहरी कार्यालयमा जाहेरी परेको थियो। यस घटनामा संलग्न रहेका चन्द्रप्रकाश राई, सबिन शाहलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। शाह भने पुर्पक्षका लागि कारागार समेत चलान भइसकेका छन्।

चन्द्रप्रकाश राईले आफ्नै गाउँकी एक महिलालाई विदेशमा आकर्षक तलब दिने भन्दै प्रलोभनमा पारेका थिए।

राईले २०७३ असार ८ गते चौधरीसँग सम्पर्क गरी १२ जना महिलालाई दुबई पठाउने तयारी गरे।

चौधरीले उनीहरूलाई वैदेशिक रोजगारीको नाममा धुलाबारीबाट भारतको सिलगुढीस्थित पुर्‍याए। त्यहाँ बस्ने सबिन शाह भन्ने व्यक्तिको कोठामा १७ दिनसम्म बन्धक बनाएर राखेको डिएसपी न्यौपानेले बताए। त्यसपछि फेरि उनीहरूलाई श्रीलंका पुर्‍याइएको थियो।

उनीहरूलाई श्रीलंकाका अलिआक्स भन्ने व्यक्तिको अपार्टमेन्टमा लगेर दुई महिनासम्म बन्धक बनाई राखेको डिएसपी न्यौपानेले बताए।

उनका अनुसार जाहेरी दिने महिलासहित १४ जना महिलाले आफूहरूलाई नेपाल फर्काऊ अन्यथा प्रहरीलाई खबर गर्छौं भनेपछि अलिआक्सले उनीहरूलाई आफ्ना राहदानी उपलब्ध गराई नेपाल फर्काएका थिए।

नेपाल फर्किएपछि उनीहरूले चन्द्रप्रकाश राई, सबिन शाह र राम चौधरीविरूद्ध जाहेरी दिएका थिए।

रामकुमार चौधरीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।