आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

कांग्रेसले भन्यो-‘भारतको देहरादुनमा कुटिएका नेपाली विद्यार्थीलाई अविलम्ब उद्दार गर’

गोकर्णेश्वर खबर१३ कार्तिक २०७७, बिहीबार १४:१९ मा प्रकाशित (३ साल अघि) ६५७ पाठक संख्या

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारत उत्तराखण्ड देहरादुनमा कुटिएका विद्यार्थीलाई तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति निकालेर देहरादुनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन र पीडित विद्यार्थीको अविलम्ब उद्दार गर्न सरकारसँग आग्रह गरेका हुन्।

‘भारतको देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरु निर्घात रुपले कुटिएको घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,’ उनले भनेका छन्, ‘आजको विश्वमा एक देशका विद्यार्थी अर्को देशमा पढ्न जाने बिषय सामान्य कुरा बनिसकेको छ। नेपाल र भारत दुबै देशका विद्यार्थी एकापसको देशका विभिन्न शहरमा अध्यनरत छन्। जो जहाँ पढिरहेका छन् सुरक्षीत र निर्भीक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै होइन त्यसको सुनिश्चितता गर्ने अभिभारा दुबै देशका सरकारहरुको हो।’

विद्यार्थी कुटिएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने कांग्रेसको भनाइ छ।

‘कुनै पनि बहानामा संसारमा कहिँ पनि कोहि एकमात्र पनि नेपाली विद्यार्थी या अन्य कोहि पनि नेपाली नागरिक दुर्व्यवहार र आक्रमणमा पर्छन् भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्दछ,’ उनले भनेका छन्, ‘अतः देहरादुनमा विजया दशमीकै दिन दर्जनौँ नेपाली विद्यार्थीहरु माथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन, विरोध प्रकट गर्दै भारत सरकारको ध्यानाकर्षण गराउन र ती विद्यार्थीहरुको अविलम्ब उद्दार गर्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ।’

नेपाली विद्यार्थीहरुको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना हुन नदिन आवश्यक सतर्कताका लागि सरकारलाई कांग्रेसले आग्रह पनि गरेको छ।