आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

भारतीय सेना प्रमुख कार्तिक १९ गते नेपाल आउँदै (विज्ञप्ति सहित)

गोकर्णेश्वर खबर१२ कार्तिक २०७७, बुधबार १५:५० मा प्रकाशित (३ साल अघि) ६६७ पाठक संख्या

काठमाडौँ । भारतीय सेना प्रमुख जनरल मनोज मकुन्द नरवणे कार्तिक १९ गते नेपाल भ्रमणमा आउँदै छन् ।

नेपालका समकक्षी प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेना प्रमुख नरवणेको नेतृत्वमा कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलका सदस्य नेपाल आउने भएका हुन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै भारतीय सेना प्रमुखको नेतृत्वमा चार सदस्यीय भ्रमण टोली नेपाल आउने तय भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, कार्तिक १९ गतेबाट २१ गते (तदानुसार ४ देखि ६ नोभेम्बर) सम्म हुने तीन दिवसीय भ्रमणका दौरान जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्दाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी महारथी पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको  छ।

कार्तिक २० गते मानार्थ महारथी दर्जा दिइने

नेपाल भ्रमणमा आउने भारतीय सेना प्रमुख जनरल मनोज मकुन्द नरवणेलाई कार्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कार्तिक २० गते अर्थात नोभेम्बर ५ तारेखमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यतालिका छ ।

भारतीय सेना प्रमुखले प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग कार्तिक २१ गते औपचारिक भेटवार्ता गर्ने तयारी छ।

भ्रमणबारे जंगीअड्डाको प्रेस विज्ञप्ति