आज: ३० बैशाख २०८२, मंगलवार | Tue, 13, May, 2025

हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि पहल गरिदिन परराष्ट्र मन्त्रीले गरे कतारसँग आग्रह

गोकर्णेश्वर खबर१९ मंसिर २०८०, मंगलवार १५:५७ मा प्रकाशित (१ साल अघि) २०३ पाठक संख्या

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारलाई आग्रह गरेका छन्।

नेपाली विद्यार्थी जोशी हमासको नियन्त्रणमा रहेकोले रिहाइका लागि सरकारले पटक पटक आग्रह गर्दै आएको छ।

मन्त्री साउदले परराष्ट्र मन्त्रालयमा मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग कुराकानी गर्दै हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्।

राजदूत अन्सारीले इसराइल र हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताएका थिए। नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागि प्रयास भइरहेको उनले बताए।

‘इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ। परिस्थिति जटिल छ। यद्यपि अर्को युद्ध विरामका लागि पहल भइरहेको छ,’ परराष्ट्रमन्त्री साउदसँग राजदूत अन्सारीले भने, ‘हामीले बन्दीहरु छुटाउनका लागि पनि प्रयास गरिरहका छौं।’