आज: २५ बैशाख २०८२, बिहीबार | Thu, 08, May, 2025

मुस्ताङमा भारतले विश्वविद्यालय स्थापना गर्न खोजेको एमाले अध्यक्षको अभिव्यक्ति भ्रमपूर्ण : मन्त्री शर्मा 

गोकर्णेश्वर खबर२१ फाल्गुन २०७९, आईतवार २०:१० मा प्रकाशित (२ साल अघि) १०३ पाठक संख्या

२१ फागुन, धनगढी । सरकारले पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको बताएको छ। आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अध्यक्ष ओलीको भनाइप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

सरकारले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ। नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं।’’

प्रवक्ता शर्माले मुस्ताङमा कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको सम्बन्धमा मिडियामा आएका विषयको आवश्यक छानबिन गरेर सत्य र तथ्य सार्वजनिक गर्नेसमेत उल्लेख गर्नुभएको छ। सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रुपमा शृङ्खलाबद्ध रुपमा सार्वजनिक हुनु दुःखद् रहेको मन्त्री शर्माको भनाइ छ। मन्त्री शर्माले पराराष्ट्र नीतिमाथि आँच पुर्याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त नहुने बताईन् ।