आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

नेपाल विद्युत् प्राधिकरणको ६ अर्ब १० करोड खुद नाफा वृद्धि

गोकर्णेश्वर खबर२७ श्रावण २०७९, शुक्रबार ०९:५३ मा प्रकाशित (१ साल अघि) ३०५ पाठक संख्या

२७ साउन, काठमाडौं । कुनै समय सञ्चित घाटा रु ३२ अर्ब बराबर पुगेको नेपाल विद्युत् प्राधिकरणले नाफामा वृद्धि गर्न सफल भएको छ ।

पछिल्लो पटक प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा रु छ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८/७९ मा नाफालाई बढाएर रु १६ अर्ब नौ करोड बराबर पुग्ने प्रक्षेपण गरेको छ ।

प्राधिकरणको आव २०७८/७९ को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी रु एक खर्ब नाघेको छ । योसँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्थाका रुपमा प्राधिकरण स्थापित भएको छ ।

ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढेको छ, विद्युत् निर्यात वृद्धि भएको छ । प्राधिकरणका स्वामित्वका विद्युत् गृहबाट विद्युत् उत्पादन करिब १६ प्रतिशतले वृद्धि भएको छ ।

आव २०७२/७३ मा रु आठ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । आव २०७३/७४ मा रु एक अर्ब ५० करोड नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव २०७६-७७ मा रु ११ अर्ब ७५ करोड पु¥याएको थियो । तर, आव २०७७-७८ मा भने घटेर रु छ अर्ब १० करोडमा झरेको थियो ।

विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताउनुभयो । प्राधिकरणले विद्युत् बिक्रीबाट रु ८८ अर्ब आम्दानी गरेको छ । विद्युत् महसुल सङ्कलन विनियमावली बमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब रु ९८ करोड छुट दिइएको छ । यसबाट विद्युत् बिक्रीबाट रु ८७ अर्ब खुद आम्दानी भएको छ । जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो ।

प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट विद्युत् चुहावट १५ दलमलव ३८ प्रतिशतमा झारिएको छ । विद्युत् प्रणालीमा आव २०७२/७३ मा २५ दशमलव ७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षहरुमा निरन्तर घटाएर आव २०७६/७७ मा १५ दशमलव २५ प्रतिशतमा झारिएकोमा आव २०७७-७८ भने बढेर १७ दशमलव १८ प्रतिशत पुगेको थियो ।

आव २०७८-७९ मा चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाई चुहावट अघिल्लो वर्षको तुलनामा एक दशमलव ८० प्रतिशत विन्दुले घटाएर १५ दशमलव ३८ प्रतिशतमा झारिएको छ ।

आव २०७७-७८मा चार करोड ४० लाख युनिट (४४ गिगावाट घण्टा) विद्युत् निर्यात भएकोमा आव २०७८-७९ मा ४९ करोड ३० लाख युनिट (चार सय ९३ गिगावाट घण्टा) निर्यात भएको छ । विद्युत् निर्यातबाट प्राधिकरणले रु तीन अर्ब ८८ करोड आम्दानी गरेको छ ।

अघिल्लो वर्षको तुलनामा आव २०७८/७९ मा आन्तरिक विद्युत् खपत २१ दशमलव २८ प्रतिशतले वृद्धि हुँदासमेत प्राधिकरण विद्युत् आयातलाई घटाउन सफल भएको छ ।