आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

एकैदिनमा हजार नाघ्यो कोरोना संक्रमितको संख्या, परीक्षण भए अझै बढ्छ

गोकर्णेश्वर खबर२५ श्रावण २०७९, बुधबार ०८:०५ मा प्रकाशित (१ साल अघि) १६४ पाठक संख्या

२४ साउन, काठमाडौं । कोरोना महामारीको चौथो लहर सुरु भएपछि पहिलो पटक एकैदिन एक हजार बढी नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार म‌ंगलबार देशभर ६ हजार ३०० नमुना परीक्षण १०९० जनामा संक्रमण पुष्टि भएको हो ।

जबकी ३१ वैशाखमा संक्रमित संख्या एक अंक अर्थात ९२० मा झरेको थियो । १ असारमा पनि संक्रमणदर ०.६४ प्रतिशत मात्र थियो । तर डेढ महिनामा कोरोना संक्रमणदर झण्डै ३० गुणाले बढ्दै ९१७.३०० प्रतिशतमा पुगेको छ ।

समग्रमा देशभरको संक्रमण दर एन्टिजेन तथा पीसीआर परीक्षणमा १७.३० प्रतिशत भए पनि सरकारी प्रयोगशालाहरुको तथ्यांक हेर्दा परीक्षण गरिएको ४५ प्रतिशतसम्म संक्रमण तथ्यांकले देखाउँछ ।

त्रिवि शिक्षण अस्पतालमा पछिल्लो २४ घन्टामा १३९ नमुना परीक्षण (पीसीआर) गरिएको थियो, जसमध्ये ६० जनामा संक्रमण पुष्टि भएको छ । यो ४३ प्रतिशत भन्दा बढी हो । पाटन अस्पतालको प्रयोगशालामा पछिल्लो तथ्यांक अनुसार ३३ नमुना परीक्षण गर्दा १२ जना अर्थात संक्रमण दर ३६.३६ प्रतिशत पुगेको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर तथा कोरोना फोकल पर्सन प्रा.डा. युवराज शर्माका अनुसार तीन हप्ता अगाडिसम्म यस्तो संक्रमण दर ५ प्रतिशत थियो । ‘केही दिनयता निरन्तर बढेको छ र, अहिले झण्डै ५० प्रतिशत हाराहारीमा पुगिसकेको छ । ‘अस्पताल भर्ना भएका तथा कडा लक्षण भएकाले मात्रै परीक्षण भएको छ’, शर्माले भने ।

अस्पतालमा भर्ना भएका विरामीहरुको तथ्यांकले संक्रमण समुदाय स्तरमा फैलिएको संकेत गर्छ । किनकी अहिले परीक्षण गराउनेहरु अधिकांश लक्षण भएकाहरु छन् । जबकी कोरोनामा ८० प्रतिशतसम्म संक्रमित लक्षणविहीन हुने अध्ययनहरुले देखाएको छ ।

धुलिखेल अस्पताल प्रयोगशालाका प्रमुख डा. राजीव श्रेष्ठ ओमिक्रोन मुल (बी.ए) टु भन्दा सबभेरियन्ट ‘बी.फाइभ’ ६० गुणा बढी रफ्तारमा फैलिने भएकाले धेरै जना संक्रमण फैलिरहेको बताउँछन् ।

‘ओमिक्रोन बढी संक्रामक, तर कम घातक भएको कारण पनि मानिस परीक्षणको दायारमा आएका छैनन्,’ डा. श्रेष्ठले भने, ‘तर घरमा पाँच जनामा कोरोना लक्षण देखिएको छ भन्ने पनि एक जनालाई परीक्षण गर्दा संक्रमणदर रोक्न ठूलो मद्दत गर्छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ( ईडीसीडी) ले पनि आगामी तीन महिनामा (साउन, भदौ, असोज) सम्म ५० हजार कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ । नागरिकले जनस्वास्थ्यको मापदण्ड पालना नगरे अझै संख्या बढ्न सक्ने मन्त्रालयका अधिकारीको अनुमान छ । ईडीसीडीको प्रक्षेपण अनुसार दैनिक दुईदेखि आठ हजारसम्म संक्रमण संख्या पुग्ने सक्छन् ।

तीन महिनाको अवधिमा बिरामीको भर्ना हुने चार हजारको हाराहारीमा पुग्ने प्रक्षेपण गरेको मन्त्रालयले १७ वटा सरकारी अस्पतालबाट मापदण्ड अनुसार कोभिडको निःशुल्क उपचारको व्यवस्था मिलाएको छ ।