आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

नेपालले एसपीपीमा सहभागी नहुने पत्र पठाएको पुष्टि

गोकर्णेश्वर खबर१४ श्रावण २०७९, शनिबार ०८:३३ मा प्रकाशित (१ साल अघि) १९३ पाठक संख्या

१४ साउन, काठमाडौं । नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई औपचारिक पत्राचार गरेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने जानकारी गराएको छ । एसपीपी अस्वीकार गर्न मन्त्रिपरिषद् बैठकले गत असार ६ मा निर्णय गरेको एक महिना तीन दिनपछि परराष्ट्र मन्त्रालयले साउन ९ मा पत्र पठाएको हो ।

सांसदले निरन्तर प्रश्न उठाएपछि प्रतिनिधिसभा बैठकमा शुक्रबार परराष्ट्रमन्त्री नारायण खड्काले पत्र पठाइसकेको जानकारी दिए । त्यसलगत्तै काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाल सरकारबाट एसपीपी अस्वीकार गर्ने सम्बन्धको पत्र प्राप्त भएको पुष्टि गरेको छ ।

सरकारले एसपीपीलाई हामी स्वीकार गर्दैनौं तर नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो द्विपक्षीय सम्बन्धलाई भने निरन्तरता दिन चाहन्छौं भनिएको पत्र पठाएको छ । पत्रमा नेपाली र अमेरिकी सेनाबीच जारी संयुक्त अभ्यास र सहकार्यमा कुनै असर नपर्ने पनि स्पष्ट पारिएको छ ।

नेपाली सेनाले भारतीय, चिनियाँ र अमेरिकी सेनासँग द्विपक्षीय अभ्यास गर्दै आएको छ । पाकिस्तान, बेलायत र अन्य मुलुकका सेनासँग पनि नेपाली सेनाका प्रशिक्षण कार्यक्रम चल्दै आएका छन् ।