आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

विधेयक पारित पछि जन्मसिद्धका सन्तान र गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुल्यो

गोकर्णेश्वर खबर६ श्रावण २०७९, शुक्रबार २१:२३ मा प्रकाशित (१ साल अघि) २१० पाठक संख्या

६ साउन, काठमाडौं । नागरिकता संशोधन विधेयक पारित भएसँगै जन्मसिद्धका सन्तान र गैरआवासीय नेपालीले नागरिकता पाउने कानुनी बाटो खुलेको छ ।

जन्मसिद्धका आधारमा नागरिकता पाएकाका सन्तानले वंशजनको नागरिकता पाउने व्यवस्था २०७२ सालमा जारी भएको नेपालको संविधानले गरे पनि त्यसलाई कानुनी रुप नदिँदा कार्यान्वयन हुन सकेको थिएन । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले विधेयक पारित गरेको विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि यो कानुन कार्यान्वयनमा आउने छ ।

चार वर्षअघि दर्ता भएको संशोधन विधेयकलाई सरकारले फिर्ता लिएर असार २४ गते नयाँ विधेयक दर्ता गरेको थियो । शुक्रबारको बैठकले उक्त विधेयकलाई फाष्टट्र्याकमा पारित गरेको हो ।

०७२ असोज ३ भन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछन् ।

यो प्रावधान पारित भएपछि अब अनौपचारिक रुपमा आएको आँकडाअनुसार करिब सात लाख व्यक्तिले नेपालको नागरिकता पाउनेछन् । नागरिकता नपाउँदा उनीहरुले बैंकमा खाता खोल्न, उच्च शिक्षा अध्ययनका लागि विदेश जान, सरकारी तथा गैरसरकारी क्षेत्रमा जागिर गर्न पाएका थिएनन् ।

०७२ साल असोज ३ गतेअघि (नेपालको संविधान जारी हुनुपूर्व) जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।

नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ । यस प्रावधानले कुनै महिलाले एकल अभिभावकत्वमा हुर्काएका सन्तानलाई बुवाको पहिचान नभएको अवस्थामा वंशजको नागरिकता दिने भनेको छ ।

विधेयकले लामो समयदेखि बहसमा रहेको गैरआवासीय नागरिकता पाउने सुनिश्चिता प्रदान गरेको छ । गैरआवासीय नेपालीलाई राजनीतिक बाहेकको सामाजिक, साँस्कृतिक तथा आर्थिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता पाउने बाटो खुलेको छ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सदस्य राष्ट्र बाहेको देशमा बसोबास गरेको र साविकमा उसको बाबु, आमा, बाजे, बज्जै नेपाली नागरिक रहेको अवस्थामा उनीहरुले गैर आवासीय नेपाली नागरिकता पाउनेछन् ।

यो विधेयकका केही प्रावधानहरुमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुको असहमति सहित संशोधन हालेका थिए । उनीहरुले विषेश गरी नेपालीसँग विवाह गर्ने महिलाले प्राप्त गर्ने नागरिकताको हदम्यादबारे असहमति राखेका थिए । तर एमालेको असहमतिका बीच विदेशी महिलाले नेपालीसँग विवाह गरे लगत्तै नेपालको नागिरकता प्राप्त गर्ने पुरानै व्यवस्थालाई यथावत् राख्दै नेपाल नागरिकता पहिले संशोधन विधेयक पारित गरेको छ ।