आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

प्याब्सन काठमाडौंले भदौ १२ गते अन्तर–विद्यालय तीज विशेष नृत्य प्रतियोगिता गर्ने 

गोकर्णेश्वर खबर४ श्रावण २०७९, बुधबार २२:२१ मा प्रकाशित (१ साल अघि) ३२३ पाठक संख्या

४ साउन, काठमाडौं । नीजि तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन)ले आगामी भदौ १२ गते प्याब्सन अन्तर–विद्यालय तीज विशेष नृत्य प्रतियोगिता नवौं संस्करण २०७९ गर्ने भएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्याब्सनले यस्तो जानकारी दिएको हो । उक्त प्रतियोगिता राष्ट्रिय नाँचघर जमलमा हुने जनाईएको छ । विद्यार्थीहरुको नृत्य प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिता गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नृत्य प्रतियोगिताकी संयोजक तथा काठमाडौं प्याब्सनकी उपाध्यक्ष रिता राई (दाहाल)ले प्याब्सनले निजी विद्यालयको मात्र नभई युवाहरु विदेशिनबाट समेत महत्वपुण भूमिका खेलेको बताईन् ।

त्यस्तै, काठमाडौं जिल्ला प्याब्सन उपाध्यक्ष सुर्य बहादुर भण्डारीले मौलिक संस्कृतिलाई विद्यालयस्तरबाटै संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले महिलाहरुको महान पर्व तीजको विशेष अवसर पारेर प्रतियोगिताको आयोजना गर्न लागिएको सुनाए ।

प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष प्रेमकुमार राइले प्याब्सनले कला तथा संस्कृतिको जगेर्नाको लागि स्थापनाकालदेखि गुणस्तरीय शिक्षासँगै अन्य विद्यार्थीहरुको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रम गर्दै आएको राईले बताए । उनले प्याब्सनले लिटल आइडल प्रतियोगिताको छैटौं संस्करणको आगामी साउन २८ गते नाँचघरमा नै हुनेसमेत जानकारी दिए ।

प्याब्सनले अन्तर–विद्यालय तीजविशेष नृत्य प्रतियोगितामा ५० वटा विद्यालयहरुलाई मात्र सहभागिता गराउने भएको छ । ५० विद्यालयहरुमध्ये प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने विद्यालय एवं विद्यार्थीलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद, प्रमाणपत्र र मेडलसहित पुरस्कृत गर्ने भएको छ ।

त्यसैगरी, १०औं उत्कृष्ट स्थानसम्म आउने विद्यालयहरुलाई ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गर्नेपनि जनाइएको छ । र,निर्णायक मण्डलमा नेपालकै ख्याँतिप्राप्त नृत्य प्रशिक्षकहरु राखिने र उनीहरुकै निर्णय अन्तिम हुनेपनि जनाइएको छ ।

साउन ३१ गते अपरान्ह ४ बजेभित्र प्याब्सन काठमाडौंको कार्यालयमा विद्यालयको लेटर प्याडमा गीतको बोल प्रशिक्षकको नाम, मोबाइल नम्बर र विद्यार्थीहरूको नाम प्रिन्सिपलले प्रमाणित गरी सहभागिताका लागि आफ्नो विद्यालयको नाम दर्ता गरिसक्नुपर्ने प्याब्सनले जनाएको छ ।

काठमाडौं जिल्ला सह–सचिव ओमप्रसाद ढकालले कार्यक्रम सञ्चालन गरेका थिए । वरिष्ठ उपाध्यक्ष नवराज भट्टले कार्यक्रमको समापन गरेका थिए ।