आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

कोरोना संक्रमण दर १० प्रतिशत, सचेत रहन विज्ञको अनुरोध

गोकर्णेश्वर खबर४ श्रावण २०७९, बुधबार १८:५७ मा प्रकाशित (१ साल अघि) २०६ पाठक संख्या

४ साउन, काठमाडौं । दुई सातायता नेपालमा कोरोना भाइरस संक्रमण दर उच्च बढेको छ । नेपालमा संक्रमण दर झण्डै १० प्रतिशत नाघेको छ । जनस्वास्थ्य विज्ञहरुका अनुसार नेपालमा कोरोना संक्रमण बढीरहेकोले सतर्क हुनुपर्ने अवस्था आएको छ ।

अहिले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढेको छ । यसैगरी भारतसँगका सीमावर्ती सहरमा पनि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर ३ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । ३ हजार ३ सय ५७ जनाको परीक्षण गर्दा १० प्रतिशतभन्दा बढीमा संक्रमण पाइएको हो । मुलुकभर सक्रिय संक्रमितको संख्या २ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेको संक्रमणको स्थितीले नयाँ लहर विकास हुन सक्ने सम्भावना रहेको विज्ञले भन्दै आएका छन् । अब आम नागरिक सचेत हुनैपर्ने अवस्था आईसकेको छ । अहिले फैलिरहेको कोरोनाको भेरियन्ट छिटो फैलिए पनि विगतको जस्तो घातक नभएको बताईएको छ ।

काठमाडौंलगायत ललितपुर र भक्तपुरमा पनि नयाँ संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ३० र भक्तपुरमा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म मुलुकभर कुल जनसंख्याको ७० दशमलव १ प्रतिशतले मात्र पूर्ण मात्रा खोप लगाएका छन् । ७० दशमलव ४ प्रतिशतले एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ। त्यस्तै १२ वर्ष माथिका ८७ दशमलव ८ प्रतिशतले मात्र पूर्णमात्रा खोप लगाएका छन् । एक मात्रा खोप लगाउनेको संख्या ८८ दशमलव १ प्रतिशत मात्र छ ।

पूर्णमात्रा खोप लगाउँदा स्वास्थ्य जटिलता रोकिन्छ । ज्यान जाने अवस्थाबाट जोगाउँछ । संक्रमणको संवेदनशीलतालाई बुझेर जनस्वास्थ्यको मापदण्ड अपनाउन समेत विज्ञले अनुरोध गरेका छन् ।