आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

राससको श्रव्यदृश्य (भिडियो) सेवा शुभारम्भ

गोकर्णेश्वर खबर१ श्रावण २०७९, आईतवार १८:१९ मा प्रकाशित (१ साल अघि) १८३ पाठक संख्या

१ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज राष्ट्रिय समाचार समिति (रासस) को श्रव्यदृश्य (भिडियो) सेवा शुभारम्भ गरेका छन् । आज केन्द्रीय कार्यालय, भद्रकालीस्थित स्टुडियोमा मन्त्री कार्कीले राससको श्रव्यदृश्य (भिडियो) सेवा शुभारम्भ गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा मन्त्री कार्कीले सङ्घीयताको मर्मअनुसार केन्द्रिकृत नभई विकेन्द्रित भएर प्रदेश र स्थानीय तहका साना लगानीका सञ्चारमाध्यमका लागि समाचार सामग्री उत्पादन र वितरणमा राससले आफूलाई अब्बल बनाउनुपर्ने बताए । उनले सूचना र प्रविधिमा आएको समयसापेक्षित परिवर्तनसँगै आफूलाई त्यसअनुसार बदल्दै समाचार बैंकका रुपमा रहेको राससले सेवाग्राहीको चाहना र मागलाई सम्बोधन गर्न सक्नुपर्ने बताए ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले स्थापनाको ६१ वर्षमा पुगेको राससले सेवालाई विविधीकृत गर्ने क्रममा परीक्षणका रुपमा श्रव्यदृश्य सेवा सञ्चालनमा ल्याएको र यसले अन्तर्राष्ट्रिय समाचार संस्थालाई प्रतिस्पर्धीरुपमा समाचार सामग्री दिनसक्ने लक्ष्य लिएको बताए । उनले आजको समयमा परम्परागत मिडियाका आधारमा मात्रै आम जनतालाई सूचनाको पहुँचमा ल्याउन नसकिने भएकाले श्रव्यदृश्य सेवाको महत्व रहेको उल्लेख गरे ।